काठमाडौं, पुस २० । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप र मधुमेहका कारण पण्डित नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भएका हुन् ।
उनलाई मधुमेह र उच्च रक्तचापको समस्या भएपछि आइतबार साँझ अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए ।

अस्पतालका प्रमुख डा विमल थापाको समूहले अहिले उनको उपचार गरिरहेको छ । नेता पण्डितको आँखामा समेत समस्या देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । मधुमेहलाई सामान्य अवस्थामा ल्याएपछि आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले अझै एक सातासम्म अस्पताल बस्नुपर्ने आलमले जानकारी दिए ।












