२७ मंसिर, काठमाडौं । देशभरका पेट्रोल पम्पमा गियर जडान गरेर ठगी गर्ने कार्यमा नापतौल तथा गुणस्तर विभागकै पूर्व महानिर्देशक संलग्न रहेको गम्भीर तथ्य फेला परेको छ । यही तथ्यका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले पेट्रोलियम पदार्थ ठगी गरेको आरोपमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव एवं नाप तौल तथा गुणस्तर विभागका पूर्व महानिर्देशक रामआधार साहलाई पक्राउ गरेको छ ।
महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार साह राजधानीका पेट्रोल पम्पहरूबाट उपभोक्ता ठगी गर्ने कार्यमा संलग्न प्रमुख अभियुक्त भएकाले उनलाई गौशालाबाट पक्राउ गरिएको हो ।
साह पम्पहरूमा वास्तविकभन्दा कम इन्धन दिई उपभोक्ता ठगी गर्नका लागि भारतको विहारबाट मिस्त्री झिकाई रिमोर्ट जडान गर्न लगाउने कार्यमा संलग्न मुख्य नाइके रहेको जानकारी खनालले दिए ।
उनी नाप तौल तथा गुणस्तर विभागमा हुँदादेखि नै उपत्यकाका पम्पहरूमा उपभोक्ता ठगी गर्न रिमोर्ट जडान कार्य सुरु भएको प्रहरीले जनाएको छ । । पम्पहरूमा रिमोर्ट जडान गर्ने मिस्त्रीको बयानका आधारमा साह पक्राउ परेको जानकारी खनालले दिए । उनीमाथि ठगी मुद्दा दर्ता गर्ने तयारी महाशाखाले गरेको छ ।
यसअघि महाशाखाले राजधानीका १७ पम्पमा छापा मारेको थियो । त्यसमध्ये १३ वटा पम्पले रिमोर्ट राखेर सर्वसाधारण ठगी गर्दै आएको पाइएको थियो । ती पम्प सञ्चालकविरुद्ध प्रहरीले ठगीको मुद्दा चलाइसकेको छ ।
आइतबार नै पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न भएको आरोपमा नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्मा आइतबार साँझ पक्राउ परेका छन् ।
पेट्रोल पम्पसँग मिलेर संस्थागत कालोबजारी गरेको प्रमाण भेटिएपछि शर्मालाई अनुसन्धानका लागि पक्राउ गरिएको खनालले जानकारी दिएका छन्। शर्मालाई ठगी र कालोबजारी अन्तर्गत मुद्धा चलाइने प्रहरीले जनाएको छ । शर्मा पेट्रोल पम्पमा रिमोर्ट जडान गर्ने काममा पनि संलग्न देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी खनालले दिएका छन् ।













