नेपाल सरकार मन्त्रीपरिषद्को बैठक अहिले बसिरहेको छ । उपप्रधानमन्त्री कमल थापाले दिल्लीको सन्देश लिएर आएपछि महत्वपूर्ण विषयमा निर्णय गर्ने एजेण्डासहित मन्त्रीपरिषद् बैठक आज अबेर बसेको हो । भारतले विभिन्न चरणमा समस्या समाधान गर्न सहमत भएपछि सरकारले आज महत्वपूर्ण निर्णय गर्न लागेको एक मन्त्रीले जानकारी दिए ।

प्रमुख तीन दलले आजै मधेसी मोर्चालाई वार्तामा बोलाउनका लागि साझा एजेण्डा तय गरेको थियो । कांग्रेसले पेश गरेको संविधान संशोधन विधेयक अगाडि बढाउन तीन दल सहमत भएका छन् । यसैअनुरुप सरकारले आज एजेण्डासहित मोर्चालाई वार्ताका लागि आह्वान गर्ने भएको छ ।
अर्कोतर्फ दिल्लीको नयाँ निर्देशनसहित सिमानाबाट लखेटिएपछि मधेसी मोर्चाका शीर्ष नेता आमसभा छाडेर आजै काठमाडौं कुदेका छन् । भारतको नयाँ रणनीतिसँगै आज वीरगंज रक्सौल नाकामा भारतीय नागरिकहरुले नै मोर्चालाई लखेटेका थिए ।











