३ मंसिर, काठमाडौं । तराईका केही जिल्लामा चलिरहेको आन्दोलन र नाकाबन्दी निस्तेज पार्न सुरक्षा परिषद्मा छलफल भएको छ । विहीबारको बैठकमा देशको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको थियो । बैठकमा चारै सुरक्षा निकायका प्रमुखले देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । बैठकपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले बैठकमा देशको समग्र सुरक्षा स्थितिकाबारे विवेचना, विश्लेषण गरिएको जानकारी दिएका छन्।
आपूर्ति व्यवस्थामा देखिएको असहजता र त्यसलाई कसरी समाधान गर्नेबारे बैठक केन्द्रित रहेको उनको भनाइ थियो। देशमा हाल रहेको इन्धन, ग्यासलाई सहजरुपमा वितरणका लागि आवश्यक व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ। देशका विभिन्न भागमा भइरहेको आन्दोलन र ती क्षेत्रको सुरक्षा अवस्थाबारे प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त र अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीले विवरण प्रस्तुत गरेका थिए। बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।












