१५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ।
पारसले अनुशासनविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारबाहीस्वरूप पारसलाई कप्तानबाट हटाउने निर्णय क्यानको बोर्ड बैठकले गरेको हो ।स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो।
क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरीत काम गरेको निष्कर्ष निकालेको थियो। पारसले पटकपटक क्रिकेट व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् । क्रिकेटको विकासमा क्यान बोर्ड जिम्मेवार नभएको आरोप पनि पारसले लगाउँदै आएका छन्।

पारस सन् २००९ देखि सिनियर टोलीका कप्तान थिए ।
नेपाली टोलीले टीट्वेन्टी विश्वकप छनोटमा राम्रो खेल्न सकेन तर त्यसको सम्पूर्ण दोष खेलाडीले क्यानलाई लगाएको आरोप क्यान पदाधिकारीको छ।
क्यानबाट तलब खाएर क्यानकै विरुद्ध बोल्नु अशोभनीय भएको पनि क्यानका पदाधिकारीले बताएका छन् ।
क्रिकेट खेलाडीले प्रशिक्षक पुबुदु दासानायकेलाई नेपालमा नराखे आफूहरूले नखेल्ने चेतावनी पनि दिएका थिए। कप्तान पारससहित खेलाडीहरूको उक्त रबैयाबाट क्यान बोर्ड निकै असन्तुष्ट बनेको थियो।
पारसकै कप्तानीमा नेपालले केही वर्षयता अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ। नयाँ कप्तानका विषयमा विनोद भण्डारी र शरद भेषावकरको चर्चा रहेको स्रोतले जनाएको छ।
नेपालले आगामी नोभेम्बरमा वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुआन्युगिनीसँग यूएईमा खेल्दैछ।













