१२ असोज, काठमाडौं । नेपाली सेनाले विगतका द्वन्द्वमा घाइते भई भिन्न क्षमता भएका सेनाका बहालवाला २० र अवकाशप्राप्त एकजना गरी २१ जना विभिन्न दर्जाका सैनिकलाई चारपाङ्ग्रे स्कुटर वितरण गरेको छ ।
सैनिक कल्याणकारी निर्देशनालयले २४ जनालाई चारपाङ्ग्रे स्कुटर वितरण गर्ने योजनाअन्तर्गत सो वितरण गरेको हो । सेना दिवसका अवसरमा तीनजना सैनिकलाई यसअघि स्कुटर वितरण गरिसकेको थियो । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले निर्देशनालयद्वारा सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा २१ जना बहालवाला तथा अवकाश प्राप्त सैनिकलाई स्कुटरको साँचो वितरण गर्नुभयो ।विगतको द्वन्द्वमा दोहोरो भिडन्त तथा एम्बुसमा परी प्रायः उहाँहरुको खुट्टा नचल्ने तथा कम्मरमुनिको भाग नचल्ने अवस्थामा रहेको छ ।
निर्देशनालयले ती स्कुटरका लागि करिब रु २८ लाख खर्च भएको जनाएको छ । निर्देशनालयका सहायक रथी गौरव तण्डुलले कल्याणकारी योजनाले शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक काममा खर्च गर्ने गरेको बताउनुभयो । हाल सेनाको कल्याणकारी कोषमा रु २८ अर्ब ११ करोड रकम मौज्दात रहेको छ ।












