२ असोज, काठमाडौं / कोरिया काम गर्न जान ईपीएस भाषा परीक्षा शनिबार सुरु हुने भएको छ। दुई दिनसम्म चल्ने परीक्षा यसपटक राजधानीबाहेक पोखरामा समेत सञ्चालन हुनेछ।
शनिबार र आइतबार दुई/दुई सिफ्ट गरी चार सिफ्टमा परीक्षा सम्पन्न हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। यसपटकको परीक्षामा सहभागी हुन ५१ हजार एक सय ३७ जनाले आवेदन फारम भरेका छन्।

यीमध्ये पोखराबाट चार हजारले परीक्षा दिनेछन्। बाँकी सबै परीक्षार्थीले काठमाडौं उपत्यकाका विभिन्न सेन्टरबाट परीक्षा दिनेछन्। ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाका अनुसार पोखरामा तीन र काठमाडौंमा १५ वटा गरी १८ वटा परीक्षा केन्द्र तोकिएको छ।
दुवै दिन पहिलो सिफ्ट बिहान ८ः३० मा सुरु भएर ११ः१० मा सकिनेछ भने दोस्रो सिफ्ट १ः०० बजे सुरु भई ३:४० मा सकिने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। परीक्षा सञ्चालन गर्न एचआरडी कोरियाका उपाध्यक्षको नेतृत्वमा ५२ जनाको टोली काठमाडौं आइसकेको छ।












