अभय राई
३० भदौ, विराटनगर। जारी राष्टिय लिग फुटबल प्रतियोगिताको आठौं स्थानमा रहेको मोरगं फुटबल क्लबले शीर्षस्थानमा रहेको झापा ११ लाई समान अंक बाड्न बाध्य बनाएको छ । प्रतियोगिता अन्तर्गत बुधवार भएको प्रतिष्पर्धात्मक खेलमा मोरगंले झापा ११ विरुद्ध कडा खेलको प्रदर्शन गर्दै गोलरहित बराबरीमा रोकोको हो । विराटनगरका शहिद रंगशालाबाट बाहिर डागीहाटस्थित लक्ष्मीमार्गमा खेलाइएको खेलमा मोरगंले सुधारिएको प्रदर्शन गरेको हो ।
खेलको सुरुवातमा चर्चित खेलाडीबाट सुसज्जित झापाली टोली मोरगंविरुद्ध हावी हुन खोजेपनि मोरगंले रक्षात्मक खेललाई निरन्तरता दिएको थियो । खेलको दोश्रो मिनेटमा झापाका दिलेन लोक्तानले गरेको प्रहार दोश्रोबारबाट बाहिरिएको थियो । एकपछि अर्को आक्रमण गर्ने क्रममा झापाली टोलीले आठौ मिनेटमा अर्को अवसर बनाएको थियो । झापाका लागि योगेश गुरुगंको क्रसमा देवेन्द्र तामागंले आकर्षक हेड गरेका थिए । उक्त हेड क्रसबारबाट बाहिरिएको थियो । यता, राष्टियस्तरको खेलमा पहिलो पटक मैदानमा उत्रेका मोरगंका डिफेन्स रमेश उरावले झापाका स्टाइकर विशाल राई, कर्ण लिम्बुलाई चल्न दिएका थिएनन् । पहिलो खेलमै उनले राम्रो प्रदर्शन गरेको खेलप्रेमीको भनाइ छ । पहिलो हाफमा झापा र मोरगंको खेलाडीले केही राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा गोल हुन सकेको थिएन ।
त्यसैगरि, खेलको दोश्रो हाफमा पनि दुवै टोलीले जाली चुमाउने अवसर पाएका थिए । तर, कडा घामकाबीच भएको खेलमा दुवै खेलाडी थकित भएका थिए । यस खेलमा उत्कृष्ठ प्रदर्शन गरेका मोरगंका गोलकिपर किशोर गिरीलाई म्यान अफ दि म्याचले पुरस्कृत गरिएको थियो । खेलपछि झापाका प्रशिक्षक भागीरथ आलेले मोरगंको खेल प्रशंसनीय रहेको बताए । उनले धेरै खेलाडी परिचित र संगै खेलका कारण पनि दुवै टोली गोल गर्नबाट चुकेको उल्लेख गरे । प्रशिक्षक आलेले सुरुआतमा कडा घामका कारण खेलाडी निकै थकित भएको र त्यसको असर खेल भरि देखा परेको बताए । त्यसैगरि, मोरंगका सहायक प्रशिक्षक मनिष तिम्सिनाले भने लिग लिडर टोलीलाई गोलरहित बरावरीमा रोक्नु खुशीको कुरा भएको बताए । तथापी, दोश्रो हाफमा केही राम्रा अवसरलाई खेलाडीले गुमाएकोमा उनले चिन्ता जाहेर गरे । सहायक प्रशिक्षक तिम्सिनाका अनुसार टोलीमा थपिएका नया खेलाडीबाट टोलीलाई फाइदा पुगेको छ । यस बराबरीसंगै झापाको टोलीले ९ खेलमा १७ अंक बनाउदै लिगको पहिलो स्थानमा यथावत रहेको छ । त्यसैगरि, मोरगंको टोली भने समान खेलमा ५ अंक बनाउदै आठौ स्थानमा रहेको छ ।
तस्वीर : गुरु ढकाल















