२६ भदौ, भारत । भारतको मध्यप्रदेशमा एक होटलमा ग्यास सिलिन्डर बिस्फोट हुँदा कम्तिमा ८२ जनाको ज्यान गएको छ । मध्यप्रदेशको झाबुआ जिल्लाको पेटलावदको रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट भएको हो । बिस्फोटनमा परी ४० जना भन्दा बढी घाइते भएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । बिहानको खाजा खाने समयमा बिस्फोट भएकाले धेरैको ज्यान गएको प्रहरीले जनाएको छ । कार्यालय जाने व्यक्ति तथा स्कुल जाने बालबालिका खाजा खानकालागि होडलमा जम्मा भएका बेला ग्यास सिलिन्डर बिस्फोट भएको हो । ग्यास सिलिन्डर बिस्फोट भएको होटल नजिकै बिस्फोटक पदार्थको गोदाम रहेकोले धेरैको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेको संख्या अझै बढ्न सरकारी अधिकारी जनाएका छन् । बिस्फोटमा परी ज्यान गुमाएकाका परिवारलाई मध्यप्रदेश राज्य सरकारले राहत दिन घोषणा गरेको छ ।
ज्यान गुमाएकाका परिवारलाई मुख्यमन्त्री राहत कोषबाट दुई लाख रुपैयाँका दरले राहत दिइने भएको छ । यस्तै घाइतेको उपचारका लागि ५० हजारका दरले रकम उपलब्ध गराउने सरकारी अधिकारीले बताएका छन् ।













