१० भदौ, काठमाडौं । नेपाल साफ यु – १९ फुटबल च्याम्पियनसिपको उपाधिनजिक पुगेको छ । बिहीबार भएको सेमिफाइनलमा अफगानिस्तानलाई ३ – २ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

अट्याकिङ फुटबल खेलेको नेपालले खेलको पहिलो हाफमा २ – ० को अग्रता लिएको थियो। नेपालले पहिलो गोल खेलको ३४ औँ मिनेटमा गरेको थियो। त्यसको पाँच मिनेटपछि नेपालले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दोब्बर तुल्यायो। पहिलो हाफको दुवै गोल अन्जान विष्टले गरेका थिए।
तर दोश्रो हाफको खेल सुरु भए लगत्तै नेपालले अफगानिस्तानलाई आत्मघाती गोलको उपहार दिएको थियो। नेपालका अनन्त तामाङले ५० औँ मिनेटमा नेपालकै पोस्टमा बल छिराएका थिए । तर लगत्तै नेपालले फ्रि कीकमा गोल गर्दै खेलमा ३ – १ को अग्रता ल्यायो । सुनिल बलले ५३ औँ मिनेटमा फ्रि कीकमार्फत् गोल गरेका थिए।
तर दोश्रो हाफको ७२ औँ मिनेटमा मेहदी रेज्जाईले गोल गर्दै अफगानिस्तानलाई ३ – २ को स्थितिमा ल्याउँदै दाबेदारी प्रस्तुत गर्यो । त्यसपछि दुवै पक्षबाट कुनै गोल हुन सकेन र नेपालले खेल ३ – २ ले जित्यो ।













