२ भदौ, काठमाडौ । विहीबारदेखि नेपालमा पहिलोपटक साफ यू–१९ च्याम्पियनसिप आयोजना हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधवार पत्रकार सम्मेलन गरी साफ यू–१९ च्याम्पियनसिपका सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी गराएको छ । एएफसी यू–१९ च्याम्पियनसिपमा दक्षिण एसियालीको प्रदर्शन सुधार गर्ने लक्ष्यसहित प्रतियोगिता बिहीबार सुरु हुँदैछ । नेपालमा पहिलो पटक तयार पारिएको आर्टिफिसियल मैदानमा साफ यू–१९ च्याम्पियनसिपका सम्पुर्ण खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुने एन्फाका महासचिव धीरेन्द्र प्रधानले जानकारी दिए । दक्षिण एसियाली ६ देशका युवा टिमले लिग कम नकआउटको आधारमा नौ खेल खेल्नेछन । अन्तराष्ट्रिय फुटबल महासंघ(फिफा) को पाँच करोड लगानीमा नेपालमा पहलिो पटक आर्टिफिसियल मैदान तयार पारिएको हो । महासचिव प्रधानले काठमाडौंमा प्रतियोगिता आयोजना गर्न वैकल्पिक स्थान छ भनेर देखाउने जमर्को गरेको बताए ।
साधारणतर्फ २ हजार ५ सय र भीआईपीतर्फ ५ सय दर्शक मात्र उनले बताए । उनले प्रशिक्षणका लागि सेन्ट जेभियरको जावलाखेल र गोदावरीस्थित मैदान तथा नेपाली सेनाको भद्रकाली र लगनखेलस्थित मैदान प्रयोग गरिने जानकारी दिए ।
महासचिव प्रधानका अनुसार ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता आयोजनाको लागि दक्षिण एसियाली फुटबल महासंघ (एएफसी) ले ५० हजार डलर सहयोग गर्ने छ ।
त्यस्तै यू–१९ नेपाली टोलीका प्रमुख प्रशिक्षक बाल गोपाल महर्जनले नेपाली टोली प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
विहीबारको उद्घाटन खेलमा आयोजक नेपाल र भुटान भिड्नेछन् । समूह ‘ए’मा बंगलादेश पनि छ । माल्दिभ्स, भारत र अफगानिस्तानले समूह ‘बी’मा प्रतिस्पर्धा गर्नेछन्। भदौ १२ सम्म हुने प्रतियोगितामा समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन् ।













