३० साउन, काठमाडौं । दलहरुले नयाँ संविधानमा धर्म निरपेक्षता हटाएर त्यसको स्थानमा कुनै पनि शब्द र शब्दावली नराख्ने निर्णय गर्नु सकारात्मक भएको विश्लेषण हिन्दू अभियन्ताहरुले गरेका छन् । राजनीतिक विश्लेषक तथा हिन्दू अभियन्ता भरत जंगमले दलहरुको नयाँ निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिए । आफूले आजभन्दा छ महिनापहिलेदेखि नै टेलिभिजन कार्यक्रम तथा सार्वजनिक समारोहमा व्यक्त गर्दै आएको धारणाप्रति दलहरु समेत सकारात्मक हुनु खुशीको कुरा भएको उनले दावी गरे । संविधानमा धर्म निरपेक्षता वा सापेक्षता केही पनि नराख्दा दुवै पक्षका माग सम्बोधन हुने र विवाद पनि हट्ने धारणा आफूले व्यक्त गर्दा कतिपय हिन्दूवादीहरुले त्यतिवेला आलोचना समेत गरेको जंगमले उल्लेख गरे । तर यसमा हिन्दूवादीले पनि मेरै गोरुको बाह्रै टक्का नभनी निरपेक्षता हट्नुलाई सकारात्मक रुपले लिनुपर्ने र हिन्दूविरोधीले निरपेक्षता नै चाहिन्छ भन्नु अतिवादी सोच हुने उनको भनाइ छ । विशेष समितिअन्तर्गत शीर्ष नेताहरुले धर्म निरपेक्षता नराख्ने र त्यसको स्थानमा धार्मिक स्वतन्त्रता वा सापेक्षता केही पनि नराख्ने निर्णय गरी सकेका छन् ।
भरत जंगमले नेपाल वान टेलिभिजनलाई अन्तरवार्ता दिंदै व्यक्त गरेको विचार भिडियोमा हेर्नुहोस् :













