१४ माघ, जनकपुरधाम । जनकपुरधामवासीका लागि सबैभन्दा अनमोल सम्पदा मानिएको जानकी मन्दिर संरक्षण र संवद्र्धनको अभावमा जीर्ण बन्दै गइरहेको छ ।
जनकपुर र जानकी मन्दिर पर्यायवाची भए पनि मर्मत सम्भारको अभावले मन्दिरको पर्खालमा बिरुवा उम्रेको र भूकम्पले पर्खाल चर्केको, बुर्जा, गजुर र गुम्बजलाई क्षति पु¥याएको देखिन्छ । मन्दिरको चारै कुनामा तीन–तीन वटाका दरले बनाइएका बाह्र वटा कलात्मक बुर्जाका साथै अन्य साना ठूला बुर्जा र गुम्बजमाथि रहेको सुनौला गजुर पनि संरक्षणविहीन अवस्थामा रहेका छन् ।
जनकपुरधामको मध्य भागमा रहेको सो मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमुना मानिन्छ । मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रूपमा रहेका छन् । सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको छ । मन्दिरमा बेलाबेलामा पुरातात्विक किसिमले रङ्रोगन नगरिँदा मन्दिरको चारैतिर विभिन्न रङका रङ्गीचङ्गी कला नष्ट हुने अवस्थामा पुगेको छ भने मन्दिरमा प्रयोग भएको सुर्खी र इँटालाई पनि प्रभावित गरेको छ ।
प्राध्यापक डा पशुपतिनाथ झा पुरातात्विक परामर्श बिना रङ्रोगनले यसको विलक्षणतालाई नै समाप्त हुने स्थिति आउन सक्ने चिन्ता व्यक्त गर्नुहुन्छ । सो मन्दिर वास्तुकलाकारिताको विलक्षण रहेको छ । टाढाबाट हेर्दा मन्दिरै मन्दिरको सङ्गालो जस्तो देखिने सो मन्दिर परिसरमा रहेका ६० वटा कोठामध्ये अधिकांश कोठाका पर्खाल कालो भइसकेका छन् भने मन्दिर बाहिर आधुनिक किसिमले विश्राम कक्ष निर्माण गराई यसको प्राचीन स्वरूपलाई कुरूप बनाइएको छ ।
भगवान् रामकी अर्धाङ्गिनी सीताको सम्झनामा बनाइएको सो मन्दिरको सुन्दरता र भव्यता आफँैमा विशिष्ट रहेको छ । कसैकसैले यसलाई भारतको ताजमहलसँग तुलना गरेर पनि हेर्ने गरेका छन् ।
मन्दिरमा मुगल, राजपुताना, मैथिल र हिन्दू शैलीको प्रभाव रहेको छ । मिथिला स्वयम् नै मन्दिररूपी पवित्र विशाल घर हो, जुन माटोमा माता जानकी उत्पन्न हुनु, यहाँको माटोको कणकणमा जानकीले लडीबुडी गरी बालक्रीडा गर्नु, भगवान् राम यहाँ आई शिवधनुष भङ्ग गर्नु वैदिककालदेखि नै मिथिलालाई दर्शनीयस्थल बनाएको प्रसङ्गलाई जीवन्त तुल्याउने मौलिक सम्पदाका रूपमा सो मन्दिर प्रख्यात रहेको छ ।
विसं १९५२ माघ २८ गतेमा शिलान्यास भई १९६७ माघ २८ गते पूर्ण भएको सो मन्दिरको निर्माण भारत टिकमगढकी महारानी वृषभानु कुँवरीले गराएकी थिइन् । सो मन्दिरको निर्माणमा ब्रिटिस महारानी भिक्टोरियाको चाँदीका सिक्का खर्च भएको थियो, जसको लागत रु नौ लाखभन्दा अधिक थियो । त्यसैले यस मन्दिरलाई नौलाखा पनि भनिन्छ ।
अध्येता रामहृदय प्रसाद नौलाखा मन्दिर बिना जनकपुरवासीले आफ्नो अस्तित्वको सार्थकताको कल्पना पनि गर्न सक्दैन भन्नुहुन्छ । बूढापाकाका अनुसार एउटा चाख लाग्दो कुरा के छ भने सो मन्दिर बन्दै गर्दा टिकमगढबाट हरेक साता दुई हजारको थैली हुलाकबाट आउने गरेको थियो । जनकपुरमा सो समयमा त्यस्तो थैली आउन सक्ने बैंक वा हुलाकको व्यवस्था पनि थिएन । सिक्काको त्यस्तो थैली जनकपुर नजिक पर्ने भारत विहारको मधवापुर, हरलाखी र सुरसण्ड हुलाकमा आउने गरेको र जसलाई यहाँबाट तीन–चार जना गई बोकेर ल्याउने व्यवस्था गरिएको थियो । त्यस्तो एउटा थैली करिब २५ सेर अर्थात् आधामनभन्दा बढी हुन्थ्यो ।
हिन्दू वाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वास्तु, भवन, इमारतलाई सबभन्दा उत्तम दर्जाको एकाइमा भन्नुपर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरेकाले पनि नौलाखा भनिएको हुनसक्ने प्राध्यापक झा बताउनुहुन्छ ।
जनविश्वासअनुसार पौराणिककालका मिथिलाका राजा जनकको दरबार हाल जानकी मन्दिर रहेको स्थानमा नै रहेको थियो । यस स्थानको परिचय दिने श्रेय यस मन्दिरका पहिलो महन्त सुरकिशोर दासलाई जान्छ । प्राचीन विदेह वा मिथिलाको राजधानी जनकपुरधाम रहेको स्थल यो आधुनिक जनकपुरस्थल नै हो भनि पहिचान गराउने कार्य पनि सुरकिशोर दासले गराएका थिए ।
संसारले जनकपुरधामलाई माता जानकीको जन्मभूमि र रामजानकीको शुभविवाह भएको दुर्लभ थलोका रूपमा श्रद्धाका केन्द्र मानी नमन गर्न लालायित रहे पनि यसैको विश्वासको धरोहर जानकी मन्दिरलाई राज्यले इमान्दारीपूर्वक संरक्षण नगरेका कारण मन्दिरका जग्गा र बहुमूल्य गरगहनाको अवस्थासमेत अज्ञात रहेको छ ।
गुठी र महन्तले मन्दिरको जग्गा बेच्नु शिवाय अन्य कुनै विकास र संरक्षणका कार्य नगरेका कारण विश्व सम्पदा सूचीमा सूचीकृत हुने सम्पदा ओझेलमा परी भविष्यका लागि चिन्ताको विषय हुन पुगेको वरिष्ठ पत्रकार राजेश्वर नेपाली भन्नुहुन्छ । संरक्षणको अभावका कारण मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि पत्थरले बनेका सिंहका मूर्तिको हिरा जडित आँखा चोरिएको बताइन्छ ।
मन्दिरको करोडौँ मूल्यका गरगहना संरक्षणका नाममा सरकारले लगेको वर्षौं भइसकेको र ताकेता गर्दा आशाजनक उत्तर नआएको महन्त रामतपेश्वर दास बताउनुहुन्छ ।
मन्दिर वरिपरि विभिन्न नामको आवरणमा पक्की भवन निर्माण भइरहेको छ र स्वयम् यस मन्दिरको मर्मत सम्भारमा जुन उदासीनता देखिएको छ त्यसबाट यसको वर्तमान भव्य स्वरूप धेरैकालसम्म सुरक्षित रहला भन्ने शङ्का उत्पन्न भएको प्राध्यापक डा सुरेन्द्र लाभ बताउनुहुन्छ ।
गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ मन्दिरको वरिपरि मन्दिरभन्दा पनि अग्लो भवन बनाउने कार्य तीव्र भइरहेकाले मन्दिरको अस्तित्व सङ्कटमा परेको छ भन्नुहुन्छ ।
जानकी मन्दिर ५० फिट अग्लो भएको तथ्यलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले सो क्षेत्रमा ३२ फिटभन्दा अग्लो भवन बनाउन नहुने प्रावधान राखेको छ तर सो प्रावधानलाई बेवास्ता गर्दै सो क्षेत्रमा निजी भवन, होटल र विद्यालय निर्माण भइरहेका छन् ।
संस्कृतिविद् रामभरोस कापडी भ्रमरले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन भोर नामक संस्थाले ५५ हजार हस्ताक्षर सङ्लित गरी अभियान सञ्चालन गरेको अवस्थामा यसको संरक्षणमा सबैको ध्यान जानु आवश्यक भएको खाँचो औँल्याउनुहुन्छ ।
सो मन्दिरको साविक ५९८ बिगाहा १० कट्ठा चार धुर जग्गामध्ये गुठी अधीनस्थ २४ बिगाहा १४ कट्ठा, गुठी रैतान नम्बरी ३७३ बिगाहा आठ कट्ठा आठ धुर र गुठी तैनाथी ९८ बिगाहा १९ कट्ठा १० धुर गरी ४७२ बिगाहा १६ कट्ठा जग्गा गुठीमा दर्ता रहेकामा अधिकांश जग्गा भू–माफियामार्फत बिक्री भइसकेको बताइन्छ । विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक भएको १० वटै आधार जानकी मन्दिरमा विद्यमान रहेकाले नौलाखा धरोहरको कलालाई जोगाउन जागरुकताको आवश्यकता रहेको छ । (हिमांशु चौधरी/रासस)