भारतीय प्रधानमन्त्री मोदीसँग तपाइको के कुरा भयो
त्यसमा मुख्यत नेपालको शान्ति प्रकृया र संविधान निर्माण प्रकृयालाई निष्कर्षमा पुर्याउने सन्दर्भमा कुराकानी भयो। मैले शान्ति प्रकृयाका महत्वपूर्ण कामहरु त पहिले नै टुङ्गिएको थियो, अब हामी संविधानलाई पनि टुँग्याउन चाहन्छौँ । अहिले हामी प्रमुख पार्टीहरु मिलेर संविधान निर्माण प्रकृयालाई पनि नयाँ गति दिइएको छ, र अहिले मस्यौदा बनेर जनताको हातमा मस्यौदा पुगेको छ हामी त्यसलाई सकेसम्म छिटो अन्तिम रुप दिने प्रकृयामा छौँ। यस्तो बेला शान्ति र संविधान निर्माण प्रकृयामा शुरु देखि नै सदभाव र सहयोग गर्दै आएको भारतको फेरि पनि अब यो निष्कर्षमा पुर्याउने सन्द्रभमा पनि त्यही स्तरको सदभाव र सहयोगको खाँचो छ भनेर आएको भन्नेबाटै शुरु गरें मैले।
अनि संविधानको मस्यौदा प्रति मोदीको कस्तो प्रतिक्रिया पाउनुभयो ?
यो ऐतिहासिक तथ्य सबैले बुझेकै कुरा छ, १२ बुँदे समझदारीबाट शुरु भएको शान्ति र संविधान निर्माणको प्रकृयामा कँही न कहीँ भारतको सदभाव र सहयोग रहँदै आएको छ। र अब टुँग्याउने त हामी नेपालीले नै हो
प्रधानमन्त्री मोदीजीले पहिला भनेकै कुरालाई उहाँले फेरि पनि स्मरण गराउनुभयो। यो संविधान सकेसम्म सबैको सहमतिबाट बन्नु उचित हुन्छ भन्ने कुरा मैले पहिले पनि भनेको थिएँ र अहिले पनि संविधान बनाउने प्रकृयामा देश भित्र फेरि कोही पक्ष असन्तुष्ट हुने, विरोध हुने स्थिति रह्यो भने त्यसले पछि नराम्रो गर्ला। त्यसकारण अहिले नै सकेसम्म सबैलाई सहमत गराएर लानु राम्रो हुन्छ भन्नेमा उहाँको अलि बढी जोड थियो। र मैले के भनें भने यो परिमार्जन हुने ठाउँ छ र यो मस्यौदा जनताबाट कमेन्ट, आलोचना, सुझावहरु आइसकेपछि त्यसलाई परिमार्जन गर्छौँ। अधिकतम सहमति जुटाउने नै हाम्रो कोसिस छ भन्ने कुरा मैले राखें।
अनि तपाइले विवादित लिपुलेकको बारेमा पनि कुरा उठाउनुभएको भन्ने सुनिएको छरु त्यसमा चाहिँ उनले के भने ?
अब त्यसमा पहिलो पटक ९भारतीय० विदेशमन्त्रीसँग कुरा हुँदा पनि मैले यो विषय उठाएको थिएँ र यसलाई अब सबै दस्तावेजहरुको अध्ययनको आधारमा सबै छलफल गरेर एउटा समाधान निकाल्नु उचित हुन्छ भन्ने उहाँको भनाइ थियो। प्रधानमन्त्री मोदीसँग पनि मैले यो विषयलाई राखें र मैले कुन सन्दर्भमा राखें भने प्रधानमन्त्री मोदी नेपाल जाँदा कालापानी र सुस्ताको विषय पनि संयुक्त रुपमा छलफल गरेर सदाको निम्ति यसलाई हल गर्नुपर्छ भनेर उहाँले भन्नुभएको थियो। अब त्यो प्रकिया पनि टुंगो लगाउनुपर्नेछ भने यसै बीच उहाँ चीन जाँदा लिपुलेकबारे भएको सहमतिमा हाम्रो अलिक गम्भीर चासो छ र एकैचोटि यी विषय समाधान होस् भन्ने हाम्रो चाहना छ भनेर मैले राखे। उहाँले त्यसमा खासै कुनै प्रतिक्रिया दिनुभएन।
तपाइले त्यो कुरा उठाउँदा मोदीले कुरा अलिकति छले भन्ने समाचारहरु आएका छन् ?
त्यो शब्द त म प्रयोग गर्न चाहँदिनँ किनभने प्रधानमन्त्री मोदीको असाध्यै सकारात्मक, नेपालमा तपाईंहरुले जे निर्णय गर्नुभएको छ त्यो सफल होस्, हरतरहको सहयोग गर्न हामी तयार छौँ भनेर भन्नुभयो।
संविधानको बारेमा उनले त्यस्तो भने । तर लिपुलेककोबारेमा तपाइले कुरा उठाउँदा अलिकति कुरा छले भन्ने तपाइले पनि महसुस गर्नुभयो ?
अब त्यति नै बेला कस्तो भैदियो भने मैले त्यति कुरा राखिसकेपछि उहाँको अर्को मिटिङ्गमा जाने बेला भैराखेको थियो, अलि लामो ४० मिनेट जति गै नै सकेको थियो। त्यत्ती नै बेला उहाँको स्वकीय सचिवले अर्को बैठकमा जाने समय भयो भनेर घडी देखाएपछि त्यति नै बेला उहाँले म भोलि गुजरात जाँदैँछु भन्ने कुरालाई महत्व दिनुभयो, शायद त्यसकारणले होला। फेरि त्यो विषयमा विदेशमन्त्रीसँग मेरो कुरा भैसकेको प्रधानमन्त्रीजीलाई पहिल्यै थाहा भैसकेको थियो होला। मैले त्यसलाई छलेको चाहिँ भन्ने ठान्दिनँ।
तपाइले प्रधानमन्त्रीसँग कुरा हुँदा खेरी, विदेशमन्त्रीसँग कुरा हुँदा खेरी उनीहरुलाई चाहिं भारतको नेपालप्रतिको चासोको बारेमा राम्रैसँग बिफ्रिङ्ग गर्नुभएछ। अनि प्रधानमन्त्री मोदीले चाहिं नेपालको भारतसँगको चासोका बारेमा तपाइलाई के के ब्रिफिङ्ग गरे ?
उहाँको यो प्रकिया सफल भएपछि आर्थिक विकासतर्फ केन्द्रीत हुनुपर्ने कुरामा चाहिं अलि बढी जोड थियो स्वभावैले। त्यतिबेला मैले के कुरा राखें भने नेपालको भारतसंगको व्यापार घाटा निक्कै नै गम्भीररुपले बढेको छ। यो व्यापार घाटा कम गर्नको निम्ति रोजगार सृष्टि गर्ने खालका उद्योगहरु, त्यस्तो पूर्वाधार निर्माण गर्नु आवश्यक छ। भारतले त्यो क्षेत्रमा विशेष सहयोग गरोस भनेर मैले राखें र त्यसमा प्रधानमन्त्री मोदीको निक्कै नै सकारात्मक जवाफ थियो।
काठमाण्डूमा उठिरहेको एउटा प्रश्न के हो भने संविधान जारी गर्ने संवेदनशील घडीमा भारत जाँदा खेरी त्यसको गलत अर्थ लाग्छ भन्ने थाहा पाउँदा पाउँदै अब तपाइ जानुभयो। अरु नेताहरुपनि जाने कुरा छ। तपाईंहरुले कुनै कारण देखाएर त्यो सार्न मिल्थेनरु के गरेको यत्रो प्रधानमन्त्री भैसकेको मान्छेले भनेर निक्कै आलोचना भयो नि ?
अब अरु नेता को को आउनुहुँदैछ मलाई त्यो कुरा थाहा भएन। मलाई आधिकारिक रुपमा अहिले पनि थहा छैन। मैले जहाँसम्म बुझेको कुरा के हो भने हामी संविधान निर्माण प्रकृयालाई अन्तिम रुप दिदैँछौँ भने हामी यो शान्ति र संविधान निर्माण प्रकृयामा सकारात्मक भूमिका खेल्ने छिमेकी भारतसँग कुरा गर्नु र उनीहरुको सदभाव जुटाउनु, नेपालको राष्ट्रीय हितमा पहल लिनुलाई अन्यथा सोच्नु मेरो विचारमा विल्कुल गलत हुन्छ। यो ऐतिहासिक तथ्य सबैले बुझेकै कुरा छ, १२ बुँदे समझदारीबाट शुरु भएको शान्ति र संविधान निर्माणको प्रकृयामा कँही न कहीँ भारतको सदभाव र सहयोग रहँदै आएको छ। र अब टुँग्याउने त हामी नेपालीले नै हो। संविधानमा समझदारी पनि हामीले नै गरेको छौँ, तर त्यसमा एउटा महत्वपूर्ण छिमेकीको नाताले भारतको सदभाव लिन पहल गर्नु राष्ट्रको हितमा, जनताको हितमा एउटा जिम्मेवारीकै कुरा हो भन्ने भावको साथ मैले यहाँ जति पनि कुरा गरेको छु नेपालको राष्ट्रीय हितको पक्षमा, जनताको पक्षमा र हाम्रो यो शान्ति र संविधान निर्माण प्रकृयालाई हामीले जसरी टुग्याउन खोजेका छौँ त्यो पक्षमा भारतीय नेताहरुसँग, भारत सरकारसँग कुरा गरेकोलाई मैले एउटा ऐतिहासिक जिम्मेवारीको भूमिकाको रुपमा ठानेको छु।
भन्नाले भारतले नै ‘ग्रीन सिग्नल’ नदिइकन संविधान आउन सक्दैनथ्यो, संविधान सफल हुन सक्दैनथ्यो भन्ते तपाईंको भित्री निष्कर्ष ?
परराष्ट्र मंत्रालयले मेरो लागि ‘टकिङ प्वाइन्ट’ हरु बनाइदिएर ‘इन्डिया-नेपाल रिलेशन’ का सबै पक्षहरुको बारेमा ब्रिफिङको चाहिं सारा प्वाइन्ट परराष्ट्र मन्त्रालयले दिएर आएको हो म ।
मेरो निष्कर्ष के हो भनेर तपाईंले जसरी भन्नुभो त्यो गलत हो। त्यो निष्कर्ष मेरो हुँदै होइन। गर्ने नेपालीले नै हो नेपालको बारेमा निर्णय, तर यो यथार्थ पनि त सबैले बुझेकै कुरा हो हिजोदेखि आजसम्म।
तर तपाईंले न जाने बेलामा नेपालको परराष्ट्र मन्त्रालयबाट ब्रिफिङ लिनुभयो, तपाईं प्रधानमन्त्री भैसकेको मान्छ, न त्यहाँ महत्वपूर्ण भेटघाटमा तपाईंले दिल्लीस्थित नेपाली राजदूतलाई र्न राख्नुभयो। किन ?
त्यो पनि बिल्कुल गलत कुरा हो। हाम्रो पार्टीको तर्फबाट परराष्ट्र मंत्रालयमा चिठी पठाएर परराष्ट्र मंत्रालयले मेरो लागि ‘टकिङ प्वाइन्ट’ हरु बनाइदिएर ‘इन्डिया-नेपाल रिलेशन’ का सबै पक्षहरुको बारेमा ब्रिफिङको चाहिं सारा प्वाइन्ट परराष्ट्र मन्त्रालयले दिएर आएको हो म। अनि म यहाँ आउँदा यहाँका हाम्रा राजदूत दीपकुमार उपाध्यायजीसंग मैले फोनमा पनि कुरा गरें, खबर गरेर, अनि आएर सबैभन्दा पहिला राजदूतसंग भेटेर म यो छलफल गर्छु, भेटघाट गर्छु, तपाईंले यसरी सहयोग गर्नुपर्यो भनी सबैकुरा सल्लाहले भएको छ। त्यसकारण यो चर्चा मैले चाहिं बाइपास गरें भन्ने बिल्कुल गलत हो।
काठमाण्डूमा त तपाईंले परराष्ट्र मन्त्रालयलाई जानुभन्दा अगाडि मात्रै जानकारी दिएको र परराष्ट्रको ब्रिफिङ पनि नलिएको भन्ने कुरा छ नि त ?
होइन, त्यो गलत हो। के भने मैले परराष्ट्र मंत्रालयबाट दिएको ‘टकिङ प्वाइन्ट’ छ। ब्रिफिङको, ‘नेपाल – इन्डिया रिलेशन’ को ऐतिहासिक पृष्ठभूमिको डकुमेन्ट छ र म तपाईंलाई दिन सक्छु।
यौटा कार्यक्रममा चाहिं तपाईंले आफ्नो घरमा गरेका, तपाईंले गरेका गल्तीहरु सबै दिल्लीमा लगेर पोख्नुभयो नि बडो पीडा साथ। त्यसो गर्न हुन्थ्यो ?
कहाँ के भन्या तपाईंले ?
तपाईंले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्यो। अनि त्यतिबेला म बढी क्रान्तिकारी भएछु। सेनापतिलाई त्यसरी बर्खास्त गर्न पनि अलिकति गल्ती भयो भनेर धेरै कुरा भन्नुभयो नि ?
इन्डियाका वामपन्थी बुद्धिजीवीहरुसंगको अन्तरकृया कार्यक्रमको सन्दर्भमा विगतका अनुभवहरु मैले राखेको हो। यो कुनै त्यहाँका कुनै पार्टीको औपचारिक कार्यक्रम पनि थिएन। वामपन्थी बुद्धिजीवीहरुले मसंग प्रश्न सोधेपछि कस्तो कस्तो लाग्छ भन्ने क्रममा मैले नेपाली जनताको अगाडि पहिले नै जुन कुरा भन्दै आएको थिएँ, त्यही कुरा भनेको हो। त्यसलाई अन्यथा रुपमा लिनुपर्ने कुनै आधार छ जस्तो मलाई लाग्दैन।
अब तपाईंको समग्र विदेश मन्त्रीसंग, प्रधानमन्त्रीसंग, राष्ट्रपतिसंग, अन्य नेताहरुसंग भएको भेटको बारेमा अहिले यो अन्तर्वार्ताको सिलसिलामा नभनिएको तर भन्नैपर्ने केही महत्वपूर्ण कुरा बाँकी छ ?
मैले म जुन उद्देश्यको साथ नेपालको शा्न्ति, संविधान निर्माण प्रकृयालाई एउटा टुँगोमा पुराउने सद्भावको निम्ति, सहयोगको निम्ति भनेर जो म आएको थिएँ, आज मात्रै मेरो चाहिं गृहमन्त्री राजनाथ सिंहजी, प्रधानमन्त्री नरेन्द्र मोदीसंग र अहिले भर्खरै संमाननीय राष्ट्रपतिजीसंग कुराकानी भयो। यो सबै कुराकानीबाट नेपालमा राजनीतिक स्थिरता बनोस् भन्नेमा सबै नेताहरुको गंभीर चासो मैले पाएको छु। मैले नेपालको राष्ट्रिय हितको पक्षमा, नेपाली जनताको आवश्यकता, आकांक्षाको पक्षमा र यो शान्ति, संविधान निर्माणमा हामीले लिएको पहलको पक्षमा मैले खुलेर भारतीय नेताहरुलाई आफ्नो कुरा राखें। मलाई गर्व छ र सन्तुष्टिकै महसुस भएको छ।
(स्रोत : बिबिसी, रविन्द्र मिश्रले प्रचण्डसँग गरेको अन्तरवार्ता)













