४ असार, काठमाडौं । वाग्मती करिडोर निर्माणका क्रममा नदीका विभिन्न स्थानमा बनाइएका डाइभर्सनका कारण वाग्मती नदी वारम्बार थुनिने सम्भावना देखिएको छ । हरेक हप्ता वाग्मती सरसफाइ गरे पनि प्लाष्टिकका बोतललगायतको फोहोर थुप्रिँदा नदीको पानी वग्न बनाइएका डाइभर्सन थनिएपछि समस्या थपिएको हो ।
यस्तो फोहोर थुप्रिँदा शुक्रबार काठमाडौंको तीनकुनेस्थित डाइभर्सन थुनिँदा केहीबेर त्यस क्षेत्रको स्थिति तनावग्रस्त बन्यो । नदी थुनिएपछि वरपरका वासिन्दा समेत आतंकित बनेका थिए । प्लाष्टिकका बोतल र झारपात निकालेर फोलेपछि नदी विस्तारै बग्न थालेको थियो ।
तीनकुने नजिकै शुक्रबार बिहानदेखि थुनिएको बागमती नदी खुलेको छ । पशुपति – कोटेश्वर बागमती करिडोरमा भर्खरै ह्युम पाइप बिच्छ्याएर बनाइएको डाइभर्सनमा फोहर र घाँसले बागमती थुनिएको थियो । बागमतीको मुहान आसपासमा ठूलो पानी परेपछि पानीले रुखका हाँगाविगा, फोहर र घाँस बगाएर ल्याएपछि पानी छिर्ने हिमपाइप थुनिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बिहान पौने आठबजेदेखि डोजर लगाएर फोहर फालेपछि पानी डाइभर्सनबाटै बग्न थालेको छ ।
पानी थुनिएर बानेश्वर क्याम्पससम्म पुगेको थियो । स्थानीयका अनुसार बागमती करिडोरको कच्चीबाटो पुरै पानीले भरिएको थियो ।
तीनकुनै नजिकै रहेको बागमती पुलको मर्मत तथा विस्तार गर्न उत्तर- दक्षिण तर्फ नै यस्ता डाइभर्सन बनाइएको छ ।













