३२ जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको निमित्त सदस्य सचिवमा शकुन्तला नगरकोटीलाई नियुक्त गरेको छ । नगरकोटीको नियुक्तिसँगै परिषद्मा पहिलोपल्ट महिलाले कार्यकारी पदको पदभार सम्हालेकी हुन् ।
उनलाई सोमबार राखेपको जिम्मेवारी सुम्पिएको हो । आफ्नो चारबर्षे कार्यकाल पूरा गरी युवराज लामाले केहीदन अघिमात्र बिदा लिएका थिए।
डडेलधुरा स्थायी ठेगाना भएको नगरकोटी परिषदको निमित्त सदस्यसचिव बन्ने पहिलो महिला हुन्। उनलाई तीन महिनाअघि सदस्यमा नियुक्त गरिएको थियो ।
एमालेको भागमा युवा तथा खेलकुद मन्त्रालय परेको हुनाले यसपटक राखेपको भावी सदस्य सचिवमा वर्तमान उपाध्यक्ष लामा टेण्डी शेर्पाको नाम चर्चामा छ । पूर्वउपाध्यक्ष पिताम्बर तिमल्सिना समेत यतिवेला पार्टी अध्यक्ष केपी ओलीमार्फत नियुक्तिको कसरत गरिहेका छन् ।
लामाको विदाइपछि तत्कालै सदस्य सचिव नियुक्त नगरी मन्त्रालयले निमित्त सदस्यसचिव नियुक्त गरेको हो ।













