१८ जेठ, काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले बढी व्यस्त पृथ्वी राजमार्गको चितवन-नागढुंगाका नौ ठाउँलाई पहिरोको उच्च जोखिममा राख्दै आपूर्तिमा बाधा पुग्ने सम्भावना औंल्याएको छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइराला संयोजकत्वको समितिले स्थलगत अनुगमनबाट भूकम्प र परकम्पका कारण पृथ्वी राजमार्गका विभिन्न नौ ठाउँमा पहिरो आउने सम्भावना बढी रहेको बताएको हो । समितिले प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ ।
‘आपूर्तिको दृष्टिकोणले पृथ्वी राजमार्गका कुन-कुन ठाउँमा असहज हुन सक्छ भनेर स्थलगत अनुगमन गरेका थियौं ।’ वाणिज्य सचिव ङइन्द्र उपाध्यायले भने, ‘धेरै ठाउँमा पहिरो जोखिम रहेछ ।’ मन्त्रालयले पहिरोको जोखिम भएका ठाउँमा यान्त्रिक उपकरण र प्राविधिक जनशक्ति तैनाथ राख्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको कारोबारमा खबर छ ।












