२७ वैशाख, काठमाडौं । विलिभर्स चर्च समुदायले भूकम्पको विपत्तिमा मानवीयताका आधारमा देश चौध जिल्लामा राहत वितरण गरिएको जनाएको छ । महाविपत्तिमा परेका वेला मानवीयताका आधारमा बढी क्षतिग्रस्त र दुर्गम क्षेत्रमा निःस्वार्थ राहत वितरण गरिएको चर्च समुदायका विसप डा. नारायण शर्माले बताए । धार्मिक उद्देश्यका साथ नभई केवल मानवीय सेवाका दृष्टिले देशभरका आफ्ना चर्च समुदायको टोली राहतमा खटिएको समेत उनले बताए ।
भूकम्प गएको अर्को दिनदेखि नै काठमाडौं वरपरका क्षेत्रबाट राहत वितरण गरिएको र त्यसमा पूर्व प्रधानमन्त्री माधव नेपाल समेत सहभागी हुनुभएको समेत शर्माले जानकारी दिए ।
काठमाडौं क्षेत्र नं २ लगायत, धादिङ, चितवन, सिन्धुपाल्चोक, गोरखा लगायतका चौध वटा जिल्लामा २ हजार बोरा खाद्यान्नसहित लत्ता कपडा भाँडाकुँडा वितरण गरिएको जानकारी विलिभर्स चर्च समुदायका चित्र रुपाचाले दिएका छन् ।
क्रिश्चियन संस्थाहरुले राहतका नाउँमा धर्म प्रचार गरिएको भन्ने समाचारप्रति आफूहरुको पनि ध्यान आकर्षित भएको भन्दै विलिभर्स चर्च समुदायले देशलाई संकट परेका बेला धर्म प्रचारको उद्देश्य आफूहरुले नराखेको राहत वितरणको नेतृत्व गरीरहेका डा. शर्माले प्रष्ट्याए । विलिभर्स समुदायका बारेमा यस्तो समाचार नआएको र आफूहरुले देश र जनतालाई सहयोग गरेको र राज्यले पनि आफूहरुको कार्यमा सहयोग पुर्याइरहेको उनले बताए ।
सिन्धुपाल्चोक जिल्लाका विकट गाविसमा पुग्नका लागि सुरक्षाकर्मीले आफूहरुलाई सहयोग गरेको शर्माले जानकारी दिए ।












