२४ वैशाख, काठमाडौं । अघिल्लो साता भूकम्प जाँदा प्रचण्ड र मोहन वैद्यसहितका प्रमुख माओवादी नेता भने गोप्य छलफलमा थिए । वैद्यको बालाजु बानियाँटारस्थित निवासमा प्रचण्ड महासचिव महरासँग पुग्दा वैद्य माओवादीका महासचिव रामबहादुर थापा बादल पनि त्यहीँ थिए । बेडरुपममा दुवै माओवादीका अध्यक्ष र महासचिवको घनीभूत छलफल चलिरहेकै बेला ७ दशमलव ६ रेक्टर स्केल भूकम्पको झट्काले उनीहरुलाई तितर–वितर बनायो ।
वैद्यले दुवै पार्टीबीच नमिलेका ६ बुँदाको लामो व्याख्या गर्दै लाइन मिलाउनुस्, एक महिनाभित्रै एकता हुन्छ भनेपछि बादलले कार्यदिशामा समझदारी हुने हो भने संविधानसभाबाट संविधान बनाउने वा नबनाउनेलगायत कार्यनीतिक बिषयमा फरक मत राखेर अघि बढ्न सकिने बताउँदै गर्दा ठूलो कम्पनले सबैलाई तर्सायो ।
प्रचण्डले लौ भूकम्प भन्नासाथ बादल जुरुक्क उठेर भित्ता समात्दै बाहिर निस्किए भने प्रचण्ड पनि पछि पछि कुदे । दमका रोगी वैद्य भने उठ्न खोज्दाखोज्दै भुईंमा ढलेर एकछिन लडीबुडी गर्न थाले । महराले वैद्यलाई बिममुनि ल्याएर राखी टाउको निहुर्याएर बस्न भने ।
वैद्य र महरा घरभित्रै टाउको निहुर्याएर बसिरहँदा प्रचण्ड र बादल घरबाहिर खुला चौरमा पुगिसेकका थिए । धक्का साम्य भएपछि वैद्य र महरा पनि निस्किए ।
वैद्यले प्रचण्ड र बादललाई भेटेपछि ‘तपाईंहरु चलाख–चलाख मिलेर निस्किहाल्नुभयो, हामी सोझा झण्डै घरभित्रै पुरिएनौं । महराजी नभएको भए त म आत्तिसकेको थिएँ’ भनेका थिए । जनआस्था साप्ताहिकमा खबर छ ।












