२३ वैशाख, काठमाडौं । विलिभर्स चर्च समुदायले भूकम्पपीडितहरुलाई १५ सय बोरा खाद्यान्न वितरण गरेको जनाएको छ । एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सहभागितामा विलिभर्स चर्च समुदायले काठमाडौं लगायतका अन्य जिल्लाहरुमा राहत सामग्री तथा खाद्यान्न वितरण गरेको हो ।
चर्च समुदायले काठमाडौं आसपासका ग्रामिण भेकमा राहत सामग्री वितरण गरिरहेको छ । उक्त चर्चका विसप डा. नारायण शर्माले एमाले नेता नेपालको सहभागितामा काठमाडौं क्षेत्र नम्बर–२ का भूकम्पपीडितहरुलाई एक हजार बोरा चामल वितरण गरेका थिए । साँखु, डाँछी, नांग्लेभारे, जर्सिङपौवा, लप्सीफेदीका भूकम्पपीडितहरुलाई प्रतिपरिवार एक–एक बोराका दरले चामल वितरण गरेका हुन् ।
विलिभिर्स चर्च समुदायले काठमाडौं वरपरका क्षेत्रलगायत धादिङ, मकवानपुर, गोरखा, सिन्धुपाल्चोक, नुवाकोट लगायतका क्षेत्रमा समेत राहत वितरण गरिहेको जनाइएको छ ।












