१० वैशाख, काठमाडौं । विहीबारदेखि काठमाडौंमा एफआईए स्पोर्टस् रिजनल कंग्रेस सुरु भएको छ । एफआईए अर्थात् फेडेरेसन इन्टरनेशनल डे ल अटोमोवाइलको आयोजना तथा नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन (नासा) को व्यवस्थानमा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन सुरु भएको हो । सम्मेलनमा चौध देशको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन उपराष्ट्रपति परमानन्द झाले गरेका हुन् ।
एभरेष्ट होटलमा विहीबार उद्घाटन भएको सम्मेलनमा सडक सुरक्षा राष्ट्रिय अवार्डको वितरण गरिएको थियो । त्यस्तै नेपालमा पहिलो मोटर ल्याउँदा भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोक्ने जीवित व्यक्ति धनबहादुर गोले तथा नेपालमा पहिलो सवारी चालक अनुमति पत्र लिन महिला चालकलाई मसुरीदेवी चित्रकारलाई सम्मान गरिएको थियो ।
जेनेभामा रहेको आईएएफएको प्रशासन कार्यालय तथा पेरिसमा रहेको मुख्यालयबाट उच्च तहका पदाधिकारी सहभागी रहेका छन् । आईएफए अध्यक्ष जिन टोड तथा ग्लोबल रोड सेफ्टी एम्बेसडर मिचेल येओह विशेष अतिथि रहेको सम्मेलनमा ४५ जनाको सहभागिता रहेको छ ।
सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा मोटर स्पोर्टस्को विकास तथा प्रबद्र्धनका बारेमा सम्मेलनमा छलफल हुने जनाइएको छ । सम्मेलन शुक्रबार समापन हुने छ ।












