१६ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्ट्राचार रोक्ने मुख्य दायित्व सरकारको भएको बताएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले सोमबार ललितपुरमा आयोजना गरेको दीर्घकालीन रणनीति तर्जुमा गोष्ठीमा प्रमुख आयुक्त कार्कीले मुलुकमा सुशासन कायम गर्न सरकारले भ्रष्ट्रचारजन्य क्रियाकलापलाई रोक्न अनुगमन कार्यमा जोड दिनुपर्ने उल्लेख गरे ।
कार्कीले भ्रष्ट्राचार ठूलो र सानो नहुने भन्दै सवै खाले भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउने दावी गरे । उनले जस्तो सुकै असहज परिस्थितिमा पनि भ्रष्ट्राचारीलाई नछोड्ने प्रतिवद्धता व्यक्त गरे ।
अख्तियार प्रमुख कार्कीले पछिल्लो समय भ्रष्ट्राचारको स्वरुपमा परिवर्तन आएको उल्लेख गरे ।
भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेका सवै निकायहरुबीच समन्वयको अभाव रहेकाले शून्य सहनशीलताका साथ अघि बढ्न समस्या भएको उनको भनाइ छ । कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई छुट्टै आयोग बनाउन गरिएको गृहकार्यले फाइदा नपुग्ने दावी गरे ।












