दक्षिण अफ्रिकाबिरुद्ध ४ विकेटको रोमान्चक जित हात पार्दै विश्वकप क्रिकेटको सह-आयोजक न्यूजिल्याण्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।
दक्षिण अफ्रिकाले दिएको २९८ रनको लक्ष्य न्यूजिल्याण्डले ४२.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
म्याकुलम ३२ बलमा ५९ रन बनाएर आउट भए । म्याकुलम आउट भएसँगै न्यूजिल्याडको इनिङ धर्ममराउन थालेको थियो । केन विलियमसन ६ रनमा आउट भए । त्यस्तै गुप्टिल ३४ रनमा रनआउट भए भने रोस टेलर ३० रनमा आउट भए ।
अलराउन्डर कोरी एन्डरसन र ग्रान्ट इलियटले पाँचौ विकेटकालागि १०३ रनको साझेदारी गरे । एन्डरसन ५८ रनमा आउट भए ।
न्यूजिल्याण्डलाई अन्तिम ओभरमा १२ रन चाहिएको थियो । अन्तिम ओभरको पाँचौ बलमा ग्रान्ट इलियटले छक्का प्रहार गर्दै जित सुनिश्चित गरे । इनिङको पाँचौ बलमा बिजयी छक्का प्रहार गरेका इलियट ८४ रनमा अबिजित रहे । ७३ बलको सामना गरी ७ चौका र ३ छक्का प्रहार गरेका उनी प्लेअर अफ दी म्याच भए ।
दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले ३ तथा डेल स्टेन र जेपि डुमिनीले समान १-१ विकेट लिए ।
बर्षाका कारण छोट्याइएको ४३ ओभरमा दक्षिण अफि्रकाले ५ विकेटको क्षतिमा २८१ रन जोडेको थियो । तर डर्क वर्थ लेविस मेथडका आधारमा छोट्याइएको खेलमा न्यूजिल्याण्डले २९८ रनको नयाँ लक्ष्य पाएको थियो ।
दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले ८२ रनको योगदान गरे भने एबी डेभिलियर्स ६५ रनमा अविजित रहे । डेभिड मिलरले ४९ रन जोड्दा राइली रुसाउले ३९ रन बनाए । क्वीन्टन डि ककले १४ रन जोडे भने अन्य ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।
न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले २ र कोरी एन्डरसनले ३ विकेट लिए । जारी प्रतियोगितामा सर्बाधिक २१ विकेट लिएका बोल्ट लिडिङ विकेट टेकरको शिर्ष स्थानमा छन् ।
हार पछि दक्षिण अफ्रिकी खेलाडीले थाम्न सकेनन ‘आँसु’
हारपछि मैदानमा दक्षिण अफ्रिकी टिमका कप्तान एबी डिवीलियर्स र अर्का खेलाडी मोर्नी मोर्कलले आँसु थाम्न सकेनन् । दुवै जना मैदानमा आँसुको बलिन्द्रधारा बगाएका थिए । उनीहरुलाई सर्पोट स्टाफ र टिमका अन्य साथीहरुले सान्तवना दिएका थिए ।
खेल पछि अफ्रिकी कप्तान डिविलिर्यसले भने‘ मलाई कुनै खेद छैन किनकी मैले खेलमा आफनो शत प्रतिशत दिएको थिए । ’उनले भने, यो क्रिकेटको शानदार खेल थियो । सम्भवतः मेरो जिवनमा यतिको संख्यामा चमत्कारी उर्जावान दर्शकहरु पहिलो पटक देखे, सर्वश्रेष्ठ टिमले जित्यो । हामीले आफनो सर्वश्रेष्ठ प्रदर्शन गरयौं, कुनै खेद छैन । यस हारलाई बिर्सन केही समय लाग्ने छ । हामी हाम्रो लागि खेल्दैनौं, हामी आफ्नो देशका जनताका लागि खेल्छौं । मलाई आशा र विश्वास छ उहाँहरुलाई पनि हामि माथि गर्व गर्ने छन् ।
अब मार्च २९ मा अष्ट्रेलियाको मेलर्बनमा हुने फाइनल खेलमा न्यूजिल्याण्डले अष्ट्रेलिया र भारत बिचको बिजेतासँग खेल्ने छ ।













