९ चैत, काठमाडौं । विकास, शान्ति र सहभागिता प्रवद्र्धनका लागि युवा स्वयंसेवा भन्ने नाराका साथ काठमाडौंमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय, एसिया प्रशान्तका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक सामाजिक आयोग र ग्लोबल पिस फाउण्डेसनको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले युवाको सहभागिता विना शान्ति र विकास सम्भव नहुने भन्दै मन्त्रालयले युवाको क्षमता अभिबृद्धिका कार्यक्रम ल्याउन कार्ययोजना बनाइरहेको बताउनुभयो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव अर्जुनबहादुर थापाले सार्क मुलुकहरुले युवालाई प्राथमिकतामा राखेर सार्क युथ च्याप्टरको विषय अघि सारेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा. यज्ञबहादुर कार्कीले युवा शान्ति र विकासका संवाहक भएकाले युवामुखी नीति बनाउन जरुरी भएको बताउनुभयो । सम्मेलनमा नेपाललगायत भारत, बंगलादेश, थाइल्याण्ड, मलेसिया, अमेरिका, मंगोलिया, दक्षिण कोरिया, केन्यालगायतका देशका एक सय भन्दा बढी प्रतिनिधको सहभागिता छ । । सम्मेलनमा शान्ति र विकास, बातावरण, उद्यम, स्वास्थ्य, विपद् व्यवस्थापन लगायतका विभिन्न क्षेत्रमा युवा स्वयंसेवालाई प्रवद्र्धन गर्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ ।












