अमृतबाबु भट्ट
मोडर्न इण्डियन स्कुलबाट निष्कासित शिक्षक
(काठमाडौ को चोभारस्थित मोडर्न इण्डियन स्कुलमा विगत केही समयदेखि व्यवस्थापन पक्ष र शिक्षक तथा कर्मचारीबीच पेशागत मागका विषयमा संघर्ष चलिरहेको छ । यसै आन्दोलनरत शिक्षक तथा कर्मचारीको आनदोलनलाई नेतृत्व गरिरहेका शिक्षक अमृतबाबु भट्ट लाई स्कूल प्रशासनले निष्काशित समेत गरेको थियो । विगत १५ वर्षदेखि अर्थशास्त्र विषयको अध्यापन गराउँदै आएका र विभिगीय प्रमुखको जिम्मेवारी सम्हालेका भट्टलाई किन भारतीय विद्यालयले जागिरबाट नै निष्कासन गर्यो ? प्रस्तुत यसै विषयमा निष्कासित शिक्षक भट्टसँग नेपाल देश डट कमका लागि सुधीर गुप्ताले गरेको कुराकानी )
१. तपाईहरु आन्दोलित हुनुको कारण के हो ?
हामीहरु आन्दोलित हुनुको कारण हामीले विद्यालय व्यवस्थापन समक्ष ९ महिना अगाडि १४ सूत्रीय पेशागत माग राखेका थियांै । हाम्रा मागबारे विद्यालय व्यवस्थापनले कुनै लिखित प्रतिबद्धता नजाई मौखिक रुपमा एक दुई वटा माग मात्र सम्बोधन गर्ने आश्वासन दियो । बाँकी मागका सम्बन्धमा थप अभ्यास गर्नुपर्छ भनेर छलफल सभा गर्दा राजनीति गरेको र स∙ठन विस्तार गरेको आरोपमा शिक्षक तथा कर्मचारीलाई मानसिक यातना दिने तथा वर्षौंदेखि कार्यरत शिक्षक कर्मचारीलाई निष्कासन गर्ने काम भयो । शिक्षक तथा कर्मचारीले आन्दोलनका क्रममा मलाई अगुवा नेता चयन गर्नुभएको थियो । मेरो नेतृत्वमा जब अधिकार माग्ने आन्दोलन भयो तब भारतीय व्यवस्थापनको त्यो विद्यालयले मलाई प्रहरी लगाएर थुन्ने काम मात्रै गरेन १५ वर्षदेखि निरन्तर कार्यरत मलाई सेवाबाट निष्काशन गरियो । भारतीय दुतावासको सिधा हस्तक्षेपमा हामी कर्मचारी र शिक्षकलाई मनपरी गर्न थालेपछि हामीहरु थप आन्दोलित भएका छौं । आन्दोलन गर्नुको मूल कारण हाम्रा मागको सुनुवाइ होस् र निष्कासित शिक्षक कर्मचारीलाई ससम्मान पुनर्वाहाली गर्नका लागि हो ।
२. आन्दोलन नगरी वार्ता र छलफल गरेर पनि माग सम्बोधन गराउन सकिन्छ नि ?
आन्दोलन नगरी वार्ता र छलफलका माध्यमबाट माग सम्बोधन हुने भए ९ महिना अगाडि देखि हामीलाई छलछाम गरेर झुक्याइन थिएना । बहुत बाठा प्रिन्सिपल र ध्रुत विद्यालय प्रशासनले हाम्रा मागलाई वेवास्ता गरि उल्टै प्रहरी प्रशासन समेत लगाएर उनिहरु वार्ताको वातावरण सिर्जनै गर्न चाहेका छैनन् । एक दुइ पटक वार्ताका नाममा हामीलाई झुक्याइयो तर हामी माथि षडयन्त्र मात्र रचिएको थियो । अझ पनि हामी त वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छौ । हाम्रो उद्देश्य विद्यालयका बालबालिकाहरुको पढाइलाई अवरोध पु¥याउने छैन । हामी त विद्यालयमा शिक्षा दिने व्यक्ति मात्र हौ ।
३. विद्याललय व्यवस्थापनले कर्मचारीहरुले लगाएको आरोप झूठो हो भनेको छ नि ?
विद्यालय व्यवस्थापनले कर्मचारीहरुले लगाएको आरोप झुटो हो भन्छ भने विद्यालय व्यवस्थापनले विद्यालयको नियमावली देखाउनु परयो । हैन भने तपाई पत्रकारहरु स्कूलमा आउनुहोस हामी देखाउँछु माली दाईको तलब २९ वर्षमा ८ हजार हो कि हैन । प्रिन्सिपलको तलब ६ वर्षमा ३ लाख ९४ हजार हो कि हैन । कर तिरेको छ कि छैन । २० औं वर्ष करार सेवामा राखेको छ कि छैन । प्रिन्सिपलको तलब बाहेक अन्य सेवा सुबिधा जोडेर ५ लाख सम्मको लागत पुग्छ कि पुग्दैन ? मेरो केहि भन्नु छैन , आरोप झुटो हो भने साबित गर्नलाई प्रमाण देखाउनु परयो मेरो भनाई त्यति मात्र हो । तपाईहरु आउनुहोस छानबिन गर्नुहोस प्रश्नको जवाफ प्रिन्सिपलसंग माग्नुहोस । हामी प्रमाण दिन तयार छौ ।
४. व्यवस्थापनले गल्ती नै नगरी निकाल्न मिल्छ र ? कर्मचारीबाट पनि केही गल्ती भएको छ कि ?
विद्यालय व्यवस्थापनले गल्ती नगरी त्यतिकै निकाल्न मिल्दैन त्यो मलाई राम्ररी थाहा छ । मेरो गल्ती यति मात्र हो कि मलाई साथीहरुले तपाईले हाम्रो आवाज उठाउनु प¥यो भन्दा साथ दिदैं उहाहरुको अगुवाई गरे । यो स्कूल नेपालको भए नेपालको इण्डियाको भए इण्डियाको नियम कानून लागु गर भने ।
५. आन्दोलनको नेतृत्व कर्तालाई किन निकाल्न खोजिँदै छ ? कर्मचारीहरु पनि २ गुटमा विभाजित छन नि ?
म शिक्षक तथा कर्मचारीको नेतृत्व कर्ता अमृतबाबु भट्टलाई नेतृत्व गरेकै आरोपमा निकालियो । शिक्षक तथा कर्मचारीहरुले मलाई तपाई नेतृत्व गरिदिनु प¥यो भनेको भएर म अगाडि बढेको हुँ । १७१ शिक्षक तथा कर्मचारीहरुले हस्ताक्षर गरेको मागपत्र सहित हामी एक छौ । केहि दुई चार हजार कम सर्टिफिकेट वाला तथा असक्षम व्यक्तिहरु र जागिर जाला भनेर डराएका व्यक्तिहरु प्रिन्सिपलको सेरोफेरोमा छन् त्यति मात्र हो ।कुरा रहृयो मलाई निकालेको संसारका जून आन्दोलन तपाईले देख्नु भएको छ ति सबै आन्दोलनको जड तत्व नेतृत्व कर्ता नै हो । उसलाई उखेलेर फ्यालिएको खण्डमा आन्दोलन दबाउन सकिन्छ भनेर होला यहा अमृतबाबु भट्ट मात्र हैन धेरै अमृतबाबु भट्ट जन्मिसकेका छन् ।
६. आन्दोलनबाट विद्यार्र्थीहरु को पढाइमा हानि पुगेको छ , यसको क्षतिपूर्ति कसले दिने ?
आन्दोलनबाट विद्यार्र्थीहरु को पढाईमा हानीनोक्सानी पुरयाउने हाम्रो कुनै उद्देश्य छैन । यस प्रश्नको जवाफ तपाई विद्यालय प्रशासन संग सोध्नुहोस । हामी पढाउन चाहन्छौ । क्वालिटि एजुकेशन दिने जिम्मेवारी हाम्रो हो । मेरा २ वटा छोरा छोरी पनि यहि स्कूलमा पढछन् । अनि म कसरी पढाईमा बाधा पु¥याउन सक्छु । मेरा मात्र हैनन् यहाँका आन्दोलनरत सम्पूर्ण शिक्षक तथा कर्मचारीका छोरा छोरीहरु यही पढछन् । अनि तपाई लाई लाग्छ म स्कूलको पढाईलाई अवरोध पुरयाउन सक्छु ।
७. व्यवस्थापनले माग पूरा गर्ने पक्षमा देखिँदैन, के गर्नुहुन्छ ?
व्यवस्थापनले माग पुरा गर्नु प¥यो गर्नुपर्छ । नेपालको संविधान , शिक्षा ऐन , शिक्षा नियमावली , श्रम ऐन , श्रम नियमावली उल्ल¨घन गर्न कसैले मिल्दैन, नेपालमा बस्ने भए नेपालको नियम पालना गर्नु प¥यो नबस्ने भए नेपाल छोडेर बाटो लाग्नु प¥यो । यसमा मैले केहि गर्नु पर्दैन । तपाई पत्रकार बुद्धिजिवी, अभिभावक नागरिक समाज न्यायलय, शिक्षा मन्त्रालय लगायतले न्याय को पक्षमा बोलिदिनु प¥यो ।
८. तपाईहरुको आन्दालनले स्कुलमा राजनीति सुरु भएको अनुमान गरिएको छ, के यो राम्रो हो ?
म लगायत सम्पूर्ण शिक्षक तथा कर्मचारीको उद्देश्य स्कूलमा राजनिती गर्ने हैन । हामीले विशुद्ध पेशागत हकहितका लागि माग राखेका छौ । हामी काम गर्न चाहन्छौ ।डर त्रास मुक्त वातावरणमा काम गर्ने मौका पाउनु परयो । तपाई राजनिती भन्नु हुन्छ भने भविष्यले बताउला म लगाएत हामी सम्पुर्ण पेशागत हकहितका लागि काम गर्ने शिक्षक शिक्षिका तथा कर्मचारीहरु नेता हुन्छन भने भोलि देशपनि सुध्रेला नि त । तपाई हेर्नुहोस चित्रलेखा यादव जो मोडर्न ईण्डियन स्कूलमा कुनै समय शिक्षिका हुनुहुन्थ्यो । तपाई उहाँसंग सोध्न सक्नुहुन्छ । नरहरि आचार्य, डा.बाबुराम भट्टराई, प्रचण्ड लगाएतका विभिन्न राजनितीक पार्टीका वरिष्ठ नेताहरुको पृष्ठभूमि पनि तपाई अध्यन गर्न सक्नुहुन्छ । हरेक राष्ट्रको नीति हुन्छ त्यस राष्ट्रको नीतिभित्र जो कोहिले पनि बस्नु पर्छ त्यसैले राज्यको नीतिभित्र बसेपछि कसैले राज्यको नीति मान्दिन भन्न मिल्दैन । कतै न कतै तपाई पनि राज्यको नीतिभित्र नै हुनुहुन्छ । त्यसलाई तपाई राजनीति भन्न चाहनुहुन्छ भने राज्यको नीति र राजनीति एउटै कुरा हो । राज्यको नीति नै मान्दिन भन्नेसँग तपाईको के लाग्छ ।















