२६ फागुन, काठमाडौं / भारतीय नागरिकद्वारा नेपालमा संचालित मोडर्न इण्डियन स्कुलले शिक्षक तथा कर्मचारीहरुलाई शोषण तथा दुव्र्यवहार गर्ने गरेको तथ्य बाहिर आएको छ । भारतीय शिक्षक र कर्मचारीलाई धेरै तलब दिने तर नेपाली शिक्षक र कर्मचारीलाई उही पदमा पनि कम तलव दिने गरेको भन्दै त्यहाँ कार्यरत कर्मचारी तथा शिक्षकले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेका छन् । बर्षौंदेखि विद्यालयमा कार्यरत कर्मचारीहरलाई प्रशासनले सामाजिक, आर्थिक र मानसिक यातना दिने गरेको आरोप समेत विद्यालयका शिक्षक तथा कर्मचारीले स्कुल संचालकमाथि लगाए २५ बर्षदेखि अध्यापन गराउदै आएका शिक्षकहरुलाई विद्यालयले कानुनी प्रावधान अनुसार सेवा सुविधा नदिने र एक दिन पनि विदा नदिने अवस्था रहेको उनीहरुले बताए । पटक पटक आवाज उठाउँदा समेत विद्यालय प्रशासनले उल्टै भारतीय राजदूतावासमार्फत जागिरबाट निकाल्ने धम्की दिएको शिक्षक कर्मचारीले बताए । उनीहरुले मोडर्न इण्डियन स्कुल प्रशासकले आफुहरुमाथि अत्याचार गरेको भन्दै न्यायका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । मोडर्न इन्डियन स्कुल नेपालमा संचालित भए पनि भारतको राष्ट्रिय गान गाउन लगाउने भन्दै यसपहिले पनि विरोध हुँदै आएको छ । संचारमाध्यममा विभिन्न समाचार आए पनि नेपाल सरकारले यसबारे कुनै पहल गरेको छैन । स्कुल ३५ वर्षदेखि नेपालमा संचालित छ ।














