२२ असार, काठमाडौं । नेकपा एमालेलाई ‘न पोथी न भाले’ भन्दै एमाले र तेस्रो लिङ्गीलाई अपमान गर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी तिनै ‘न पोथी न भाले’ व्यक्तिहरुले थामिदिने भएका छन् । आफैंले जारी गरेको संविधानको विरोध गर्दै ‘न पोथी न भाले’को स्वभाव देखाएका भट्टराईको पार्टीमा कार्यकर्ता भित्र्याउन नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङ जोडतोडले लागेकी छिन् । यसै उद्देश्यका लागि उनले नर्वेजियन दूतावासको सहयोगमा वुधबार पोखरामा कार्यक्रम समेत आयोजना गरेकी छिन् ।
पोखरामा वुधबार आयोजित कार्यक्रममा नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङले भट्टराईको नयाँ शक्तिमा ७ सय तेस्रो लिङ्गीले सदस्यता लिएको बताएपछि यस्तो कुराको खुलासा भएको हो । नर्वेजियन दूतावासको सहयोगमा आयोजित कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपालकी सचिवालय सदस्य समेत रहेकी पिंकी गुरुङले ७ सय समलिंगी तेस्रोलिंगीले पार्टीको सदस्यता लिउको जानकारी दिएकी हुन् ।
डा. बाबुराम भट्टराईले आफूहरुको मुद्दा बुझेको दावी समेत उनले गरिन् । तर तिनै भट्टराईले एमालेको लिङ्ग के हो भनी सोधेर तेस्रो लिङ्गीको अपमान गरेको कुरा भने गर्न चाहिनन् ।
कार्यक्रममा समलिंगी तथा तेस्रोलिंगीहरुले नयाँ संविधानमा लेखिएको अधिकार कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण समेत गरेका थिए । नर्वेजियन दूतावासको सहयोगमा आयोजित कार्यक्रममा निलहिरा समाज तथा नौलो विहानी लगायतका संस्थाको सहभागिता रहेको थियो ।
सरकारले आफूहरुका संस्थाहरुलाई एक रुपैयाँ पनि सहयोग नगर्दा दातृ निकायको मात्रै भर पर्नु परेको गुनासो तेस्रो लिङ्गीका लागि काम गरिरहेका संस्थाका अगुवाहरुले खुलासा गरेका थिए ।












