२२ असार, काठमाडौं । कांग्रेस महामन्त्री सशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै चिकित्सकहरुले जानकारी दिएका छन् । मंगलबार बेलुका अस्वस्थ भएर ओम अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालालाई थप उपचारका लागि दिल्ली लैजाने तयारी गरे पनि अवस्था गम्भीर भएकोले अस्पतालबाट निकाल्न नमिल्ने बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई एयर एम्बुलेन्समार्फत दिल्ली लैजान प्रस्ताव गरे पनि अस्पतालले भने अहिलको अवस्थामा अस्पतालबाट कतै लैजान नमिल्ने बताएको छ ।
अस्पतालका प्रवक्ता डा लवनरसिंह जोसीले भने ‘उहाँलाई दिल्लीबाट एयर एम्बुलेन्स बोलाएर लैजान देउवाले प्रस्ताव गर्नुभएको थियो तरअहिले उहाँलाई एम्बुलेन्समा राखेर यहाँबाट एयरपोर्टसम्म लैजान पनि मिल्ने अवस्था छैन । उताबाट पनि पठाउ नभनि पठाउन मिल्दैन ।’
डा. जोशीका अनुसार उनको स्वास्थ्य अवस्थामा दिउँसोसम्म केही सुधार भयो भने मात्रै अन्य विकल्प बारे सोच्न सकिन्छ ।
स्रोतका अनुसार ओम अस्पतालमा नै कार्यरत शशांककी श्रीमती सुपात्रा कोइरालाले यहाँ उपचार गर्नु र दिल्ली लैजानुमा केही फरक नभएकोले यही उपचार गराउने बताएकी छन् ।
अस्पतालले दिएको जानकारी अनुसार उनको उपचारका लागि काठमाडौंमा उपलब्ध प्राय सबै वरिष्ठ चिकित्सकहरुसँग सल्लाह लिइएको छ ।












