१९ असार, काठमाडौं । नेपाली चलचित्रका सुपरस्टार राजेश हमाल चलचित्र कलाकार संघले शनिबार दिएको दशकका लोकप्रिय अभिनेताको अवार्ड थाप्ने वित्तिकै मास्टरलाई भेट्न पुगेका छन् । यसरी हमाल दौडँदै भेट्न पुगेका मास्टर उनलाई स्कुलमा पढाउने मास्टर नभएर दाम्पत्य जीवनमा सुधार ल्याइदिन चाहने मास्टर हुन् । हो, मुम्बइबाट आएका मास्टर थापासँग भेटेर हमालले आफ्नो दाम्पत्य जीवनमा सुधार ल्याइदिने उपाय गरिदिन आग्रह गरेका हुन् ।
अवार्ड थाप्ने वित्तिकै थापालाई भेट्न राजेश हमाल लैनचौरस्थित एक क्याफेमा पुगेका थिए । केही वेरको कुराकानीपछि थापाले सम्बन्ध सुधारका लागि आइतबार विशेष कार्य गर्ने आश्वासन हमाललाई दिएका थिए ।
को हुन् त मास्टर थापा
नेपालको स्याङ्जामा जन्मेर बाल्यकालदेखि शिवसेनाका अध्यक्ष बाल ठाकरेको घरमा हुर्केका व्यक्ति हुन् मास्टर थापा । धार्मिक संगठन शिव सेनामै सक्रिय रहेका थापा पनि धार्मिक साधना गर्ने व्यक्ति हुन् । त्यसो त बलिउडका कलाकारहरु पनि शिव सेनाले भनेको कुरा मान्दछन् । बलिउडमा प्राविधिकको काम समेत गरेका थापाको सबैजसो भारतीय स्टारहरुसँग राम्रो सम्बन्ध छ । नेपाली कलाकारसँग पनि थापाको राम्रो सम्बन्ध छ । हमालसँग उनको सम्बन्ध विगत १८ वर्षदेखि रहेछ ।
नेपालदेशडटकमका सम्पादक क्रन्दन चापागाईसँग अचानक भेटिएका हमालले भने मास्टर थापासँग सम्बन्ध त सन १९९८ देखिको हो ।
हमाल दम्पतिको सम्बन्ध सुधारका लागि के गर्दै छन् थापाले ?
राजेश हमाल र उनकी पत्नी मधु भट्टराईबीच दरार उत्पन्न भएका समाचारहरु संचारमाध्यममा आइरहेका छन् । गत महिना अमेरिका जाँदा समेत हमालले पत्नी भट्टराईलाई नेपालमै छाडेर गएका थिए । हमाल दम्पतिबीचको सम्बन्ध सुधारका लागि मास्टर थापाले गर्न लागेको प्रयासबारे नेपालदेशडटकमलाई जानकारी प्राप्त भए पनि गोपनीयताका लागि अहिले सार्वजनिक नगरिएको हो । छिट्टै नै यसबारे खुलासासहितको समाचार नेपालदेशडटकममै प्रकाशित गरिने छ । हेर्दै गर्नुहोला ।













