१९ असार, काठमाडौं । भारतीय आडमा केपी ओली सरकार ढाल्ने यसपल्टको प्रयास सफल हुने सम्भावना बढ्दै गएको छ । किनभने राष्ट्रियताको माला जपेर मात्रै सरकार टिक्ने सम्भावना अब देखिएको छैन । एमालेको नीतिले कांग्रेस त चिढिएको थियो नै अब चाहिँ माओवादी केन्द्र समेत असन्तुष्ट बनेको छ । आफ्ना एजेण्डा नै नसमेट्ने प्रधानमन्त्रीलाई काँधमा बोकेर बसिरहने पक्षमा माओवादी अब देखिएको छैन ।
केपी ओली नेतृत्वको सरकार ढाल्न भारतलाई पनि निकै मुस्किल पर्यो । तर यतिवेला भने ३ वटा निहुँ सरकार ढल्नका लागि परिपक्व बनेका छन् । मधेसी दलसँग वार्ताको वातावरण बनाउन नसक्नु, भूकम्पपीडितलाई राहत दिन कन्जुस्याइँ गर्नु र सत्ता साझेदार माओवादीलाई पुरै अवमूल्यन गरेर उसका एजेण्डा नसमेट्नु नै ओलीको बहिर्गमनका लागि कारक बन्दैछन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय आडमा सरकार ढाल्ने रणनीति बनाउन भारत निकट नेताहरु कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई खटाएका छन् । अघिल्लोपल्टको निधिको प्रयास असफल भए पनि यसपल्ट चाहिँ सफल हुने सम्भावना देखिएको छ । किनभने माओवादीले पार्टी बैठकबाट नै सरकार परिवर्तनको निर्णय गरिसकेको छ ।
माओवादीबाट सरकार ढाल्ने सहयोग देउवालाई प्राप्त हुने भए पनि आफ्नै दलका नेता नेता रामचन्द्र पौडेलबाट भने असहयोग हुने दे्खिएको छ । पौडेल पक्षका नेताहरू सरकार फेरिहाल्ने मनस्थितिमा देखिएका छैनन् । किनभने, पार्टीमा देउवाको एकलौटी भैरहेका बेला पौडेल पक्षका नेताहरुले सरकारमा कुनै भाग पाउने सम्भावना छैन ।
तर एमालेभित्रैबाट भने ओलीलाई ढाल्ने खेल भैरहेको छ । बाहिरी रुपमा खुलस्त नभने पनि नेता माधव नेपाल प्रधानमन्त्री बन्ने दौडमा छन् ।
यी अवस्थालाई हेर्दा देउवा प्रधानमन्त्री बन्ने शर्तमाभन्दा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्ने शर्तमा ओली सरकार ढाल्ने सम्भावना बलियो देखिन्छ । तर भारत भने देउवालाई नै प्रधानमन्त्री बनाउने पक्षमा छ ।












