१८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता साझेदार दल एमालेमा नैतिकता नभएको निष्कर्ष निकाल्दै बजेट पारित गरेपछि सरकार परिवर्तन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी केन्द्रकोे कार्यालय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता पम्फा भुसालले सरकार परिवर्तन गर्ने निर्णय भएको जानकारी दिइन् ।
बजेटपछि राष्ट्रिय सहमतिको सरकार सम्भव नभए बहुमतीय भए पनि बनाउने र सरकार गठनका विषयमा छलफल गर्ने जिम्मा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
गएको वैशाख २३ गते एमाले र माओवादी केन्द्रबीच ९ बुँदे सहमति भएको थियो । जसमा विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप संक्रमणकालीन न्यायसम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिनभित्र कानुन संशोधनसहतिका प्रक्रिया अघि बढाउने, द्वन्द्वकालमा गरिएका जग्गाको कारोबारलाई वैधानिकता दिने लगायतका विषय उल्लेख छन् । एमालेले सहमति भएका विषय कार्यान्वयन नगरेले सरकार परिवर्तन गर्नुपर्ने अवस्था आएको प्रवक्ता भुसालले दिइन् ।
माओवादी केन्द्रको कार्यालयले शनिबार गरेको निर्णयलाई अनुमोदन गर्न असार २१ र २२ गते पोलिट्ब्युरो बैठक समेत बोलाइको छ । पोलिट्ब्युरो बैठकले महाधिवशेनका विषयमा थप छलफल गर्ने प्रवक्ता भुसालले जानकारी दिइन् ।













