१८ असार, क्वालालम्पुर । वैदेशिक रोजगारीमा मलेसियामा जाने नेपाली कामदारको समस्या समाधान गर्न मलेसिया भ्रमणमा गएको श्रम मन्त्रीको टोलीले उल्टै समस्या लिएर फर्केको छ । मन्त्रालयका उच्चअधिकारी र वैदेशिक रोजगार व्यवसायीसहित मलेलिया पुगेर फर्केको टोलीबीच नै विवाद चर्किएको छ ।
मलेसियास्थित नेपाली दूतावासले कामदारको समस्या हल नगरी कामदारको शोषण गरेको आरोप व्यवसायीहरुले लगाएका छन् । तर, दूतावासले यसको खण्डन गरेको छ ।
मलेसिया सरकारसँगको वार्तामा आफूहरुलाई सहभागी नगराएको भन्दै व्यवसायीहरुले आलोचना गरेका छन् भने सरकारी वार्ता टोलीमा व्यवसायीहरुलाई सहभागी गराउने प्रचलन नरहेको भन्दै दूतावासले विज्ञप्ती जारी गरेको छ ।
मलेसिया भ्रमणका क्रममा श्रम तथा रोजगार मन्त्री दीपक वोहराले मलेसियाको कैदी शिविर डिटेन्सन क्याम्पको समेत भ्रमण गरेका थिए।
सेलाङर राज्यको सिमोनियामा रहेका क्याम्पमा पुगेर उनले घर फिर्तिको पर्खाइमा रहेका नेपालीसँग भेट गरेका थिए । मन्त्री वोहराले त्यहाँका अधिकारीहरुसँग समेत भेट गरी नेपालीको उद्धार प्रकृयालाई तीब्र वनाउन आग्रह गरेका थिए ।
समस्यामा परेका नेपालीहरुमध्ये हालसम्म दूतावासको पहलमा विभिन्न संघ संस्था तथा वोर्डको सहयोगवाट ५ सय ९६ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।
यद्यपि त्यहा कार्यरत नेपाली राजदूत निरन्जन मानसिं बस्न्यातले कामदारको मेडिकल शूल्कमा शोषण गरेको आरोप व्यवसायीहरुले लगाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी भीएलएन, बायोमेट्रिक, माइग्राम, आइसीएसजस्ता संस्थासँग राजदूत निरन्जन मानसिं बस्न्यातले साँठगाँठ गरी रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई बढी आर्थिक भार बोकाउने कार्य गरेको आरोप लगाएको छ ।
व्यवसायीको यो आरोपलाई दूतावासले विज्ञप्तीमार्फत खण्डन गरेको छ । सरकार र व्यवसायीबीचको यो अवस्थाले मलेसियामा रोजगारीमा जाने नेपाली झनै चेपुवामा पर्ने देखिएको छ ।














