१७ असार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने हक जोकोहीलाई पनि रहेको भन्दै मधेशवादी दलमाथि विखण्डनवादीको आरोप लगाउने अधिकार कसैलाई पनि नरहेको बताएका छन् । दशरथ चन्द स्मृति प्रतिष्ठानले दशरथ चन्दको १ सय १४ औं स्मृतिका अवसरमा शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा देउवाले अहिलेका प्रमुख राजनीतिक दलहरु सबै आन्दोलनकै बलबाट स्थापित भएको भन्दै आन्दोलन गरेकै आधारमा मधेशवादी दलमाथि विखण्डनवादीको बिल्ला भिराउन नहुने धारणा व्यक्त गरे ।
मधेशका जिल्ला मात्र रहने गरी दुई प्रदेश बनाइनुपर्ने माग राखेर आन्दोलन गर्दै आएका मधेशवादी दललाई कांग्रेसले पनि यसअघि विखण्डनवादीको आरोप लगाउदै आएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवादीको आरोप लगाउँदै आएका छन् ।
काँग्रेस सभापति देउवाले मधेशवादी दलहरुले राखेका माग संविधान संशोधन गरेर पूरा गर्न सकिने समेत बताए । संशोधनका विषयमा संविधान लचिलो रहेकाले सरकारले मधेशवादी दलका माग सम्बोधनका लागि अग्रसरता लिनुपर्ने उनले बताए । उनले संविधान कार्यान्वयन गर्नका लागि सबै राजनीतिक दलको प्रतिज्ञा चाहिने तर मधेशवादी दलले आन्दोलन गरेको अवस्थामा भने चाहेर पनि संविधानको कार्यान्वयन हुन नसक्ने चेतावनी दिए ।












