१७ असार, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच एकीकरण हुने भएको छ । एकीकरण भएपछि बन्ने नयाँ पार्टीमा तमलोपाका अध्यक्ष महन्थ ठाकुर अध्यक्ष र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो कार्यकारी अध्यक्ष हुने भित्री सहमति भएको जानकारी नेपालदेशडटकमलाई प्राप्त भएको छ । नयाँ दलको निर्वाचन चिन्ह सद्भावनाले प्रयोग गर्दै आएको तीर लाई नै राख्ने सहमति भएको समेत जनाइएको छ ।
अबको दुई महिनाभित्र पार्टी एकीकरण गर्ने गरी गृहकार्य भैरहेको र पार्टीका नाम चाहिँ के राख्ने भन्ने विषयमा विभिन्न विकल्पमाथि छलफल भएको जनाइएको छ । नयाँ पार्टीको नाम तराई मधेस सद्भावना पार्टी हुने सम्भावना बढी रहेको स्रोतले बतायो ।
वैचारिक र सांगठनिक विषयमा अहिले दुई दलको शीर्ष तहमा कसरत भैरहेको सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवले बताए । उनले भने – ‘दुई दलका अध्यक्षबीच मधेस मुद्दालाई मजवुद बनाउने विषयमा छलफल भैरहेको छ । मुद्दालाई मजबुद बनाउन र सकारले घोषणा गरेको निर्वाचनलाई काउण्टर दिनका लागि पार्टी एकीकरण गर्नुपर्ने महसुस गरेर यस्तो तयारी गरिएको हो ।’
मधेस आन्दोलनमा उपेन्द्र यादव र उनी निकट संगठन हावी हुँदै गएपछि महन्थ ठाकुर र राजेन्द्र महतो मिल्न लागेको बताइन्छ । संघीय गठबन्धका संयोजक बनेका उपेन्द्र यादव र मधेसी मोर्चाका संयोजक रहेका महन्थ ठाकुरबीच यतिवेला जुँगाको लडाइँ चलेको छ । त्यसमा पनि उपेन्द्र र राजेन्द्रबीच त मधेस आन्दोलनकै क्रममा तीव्र मनमुटाव चलेको थियो । फलस्वरुप अहिले न त मधेस आन्दोलन छ न त राजधानीमा गरिएको धर्नामा महन्थ ठाकुर र राजेन्द्र यादव नै सहभागी छन् । बरु सरकारले वार्ता गठबन्धनसँग गर्नुपर्ने र मोर्चासँग गर्नुपर्ने विवादमै मधेसी नेताहरु अल्मलिएका छन् ।












