१७ असार, काठमाडौं । केपी ओली नेतृत्वको सकार ढाल्ने तयारीसहित आज नेकपा माओवादी केन्द्रको कार्यालय बैठक बस्दैछ । ११ बजे पार्टी मुख्यालयमा डाकिएको बैठकमा नयाँ सरकार गठनको प्रमुख एजेण्डा रहेको कार्यालय बैठकमा सहभागी हुन जाँदै गरेका एक नेताले बताए ।
माओवादी केन्द्रले एकीकरणपछि २६ जनाको कार्यालय बनाएको छ । महाधिवेशन आयोजक समिति जम्बो भएकोले केन्द्रीय कार्यालयले नै महत्वपूर्ण निर्णयहरु गर्ने जनाइएको छ ।
कांग्रेससँगै मिलेर नयाँ सरकार गठनको सम्भावना बलियो भएको ती नेताले बताए । नौ बुँदे सहमति र तीन बुँदे सहमति कार्यान्वयन गर्न एमाले तयार नभएकोले सरकारको नयाँ विकल्प खोज्न थालिएको उनले बताए । उनले भने या त प्रचण्ड नेतृत्वमा सरकार गठन गर्न एमालेले प्रस्ताव गर्नुपर्यो होइन भने एमाले प्रतिपक्षमा बस्नुपर्यो हामीले अर्को सरकार बनाउँछौं ।












