१६ असार, काठमाडौं । राजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्रीहरुमा गिरिजाप्रसाद कोइरालादेखि केपी ओलीसम्म पहुँच भएका एक व्यक्तिले ३३ करोड राजश्व छली गरेको खुलासा भएको छ । तत्कालीन राजा ज्ञानेन्द्रसँग दर्शन भेट गर्नेदेखि गिरिजाप्रसाद कोइरालादेखि पछिल्ला प्रधानमन्त्री ओलीसम्म हात मिलाएको फोटो सजाउने ज्ञानेन्द्रलाल प्रधानले ३२ करोड ६५ लाख ६२ हजार रुपैयाँ सम्बद्ध संस्थाहरूले राजस्व छलेको राजस्व अनुसन्धान विभागले ठहर गरेको हो ।
नामी तस्करका रुपमा चिनिएका प्रधानको घरमा छापा मार्ने वित्तिकै शक्तिशाली व्यक्तिहरुको दबाबपूर्ण फोन आएर थेगिनसक्नु भएको संलग्न अधिकारीहरुले बताएका छन् ।
प्रधानको स्वामित्वको त्रिशक्ती केबल इन्डस्ट्री हाइड्रो सोलुसन र त्रिशक्ति इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडमा कर छलेको फेला परेपछि विभागले छापा मारेर कर रकम तिराउने निर्णय गरेको हो । प्रधानले आफूलाई हाइड्रो पावर विज्ञ र लगानीकर्ताका रूपमा चिनाउँदै फाइदा लिँदै आएका छन् ।
राजस्व अनुसन्धान विभागले गत मंसिर २० गते प्रधानको ज्ञानेश्वरस्थित घर, ज्ञानेश्वरमै रहेको त्रिशक्ति केबुलको कार्यालय, सितापाइलास्थित गोदाम, हाइड्रो सोलुसनको स्वयम्भूस्थित अफिस, त्रिशक्ती केबुलको गैंडाकोट (नवलपरासी) स्थित उत्पादन इकाइ छापा मारेर अनुसन्धान सुरु गरेको थियो ।
छापाका क्रममा कम्प्युटर, प्रधानले चलाउने ल्यापटप, खाता विवरण, बिक्री बिलबिजक, स्टकलगायत नियन्त्रणमा लिइएको थियो। त्रिशक्ती केबुलमाथि २१ करोड ६३ लाख ८८ हजार रुपैयाँ कर निर्धारण गरिएको छ। स्रोतका अनुसार प्रधानले कर प्रयोजन र वास्तविक गरी दुईवटा अभिलेख राखेका थिए ।
उनको बेडरुमबाट बरामद गरिएको ल्यापटपमा उनीसम्बद्ध व्यवसायको वास्तविक कारोबार÷आम्दानी खुलेको थियो । ल्यापटपमा उनले कर प्रयोजनका लागि देखाइएको कारोबार र वास्तविक कारोबारको रकम छुट्याएर राखेका थिए ।
कर प्रयोजनका लागि उल्लेख गरिएको रकमभन्दा वास्तविक कारोबारको रकम २२ करोड रुपैयाँ बढी थियो । बढी भएको रकमबाट छलिएको कर रकममा जरिवाना, ब्याज जोडेर रकम कर निर्धारण गरिएको हो ।
राजस्व छलीमा चार वर्ष्भित्रको मात्र कारोबार अनुसन्धान गर्न पाइन्छ । तर चुहावट नियन्त्रण ऐनले जति वर्षको पनि अनुसन्धान गर्ने छुट दिन्छ । यसका लागि आन्तरिक राजस्व विभागका महानिर्देशकले अनुमति दिनुपर्छ । प्रधानले वयानका क्रममा ल्यापटपमा वास्तविक भनेर लेखिएको कारोबार वास्तविक नभई प्रोजेक्सन मात्र भएको जिकिर लिएका थिए ।
तर, अनुसन्धानका क्रममा उनले वास्तविक कारोबार उल्लेख गरेको रकम नै वास्तविक देखिएको थियो ।
प्रधानका कम्पनीविरुद्ध भरपर्दो उजुरी परेपछि उनी सम्बद्ध प्रतिष्ठान र घरमा छापा मारिएको थियो । छापा मार्ने क्रममै कारबाही नगर्न दबाब आउने पूर्वानुमानसहित छापा मारिएको थियो र सो क्रममै दबाबपूर्ण फोनहरु आएका थिए ।
उनका विषयमा इमानदार उद्यमी भनी कतिपय मिडियाले समेत चाकडीपूर्ण समाचार सम्प्रेषण गर्ने गरेका थिए । प्रोपर्टीटुडेडटकमडटएनपी नामक अनलाइन मिडियामा उनका बारेमा प्रकाशित समाचार हेर्नुहोस् : ‘इमानदार उद्यमी’ : ज्ञानेन्द्रलाल प्रधान












