१६ असार, काठमाडौं । बालबालिका लाई यौन कार्यमा लगाउने कार्य बढेको नेपाल प्रहरीले ठहर गरेको छ । केन्द्रीय बालकल्याण समितिले विहीबार ललितपुरमा गरेको कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले नेपालमा पछिल्लो समय बालबालिकालाई यौन कार्यमा लगाउने कामम वृद्धि भएको खुलासा गरेका हुन् ।
बालबालिकाहरुलाई ललाई फकाइ गरेर, सरसामान किनिदिएर अप्राकृतिक यौन कार्य गर्ने घटनामा वृद्धि भएको विभिन्न अनुसन्धानबाट देखिएको उनले बताए। उनले यस्तै घटनामा संलग्न एक फ्रान्सेली नागरिकलाई केही समयअघि पोखराबाट पक्राउ गरिएको समेत बताए।
१४ वर्षीय बालकलाई अप्राकृति यौन कार्य गरेको भन्दै कास्की प्रहरीले फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभरलाई पक्राउ गरेको थियो । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले मसाज सेन्टर, स्पा, डान्स दोहरीमा बालबालिका प्रयोग गर्ने गरेको दाबी गरे। यसले बालबालिकाको श्रमशोषण र यौन शोषण दुवै भएको उनको आशय थियो ।

बालबालिकामाथि दुर्व्यवहार र श्रम शोषण गर्नेहरुलाई पक्राउ गर्दा राजनीतिक गन्ध आउने गरेको उनले बताए । ‘अब बालबालिकाहरुलाई उद्धार मात्र होइन उनीहरुलाई श्रम शोषण गर्ने साहुलाई पनि थुन्ने हो’ उनले भने।
पछिल्लो समय चर्च, मदरसा, गुम्बा समेत बालबालिका ल्याएर अवैधानिक रुपमा राख्ने गरेको उनले बताए। केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले विभिन्न स्थानहरुबाट उद्धार गरिएका बालबालिकालाई राख्नका लागि सरकारी तबरबाटै नै चासो हुनुपर्ने बताए।











