नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै दलका अध्यक्ष केपी ओलीको विकप्ल खोज्नुपर्ने अभिव्यक्ति बताएका छन् । इन्टरनेसनल कम्युनिष्ट वर्कर्स पार्टीको अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिन मंगलबार भियतनाम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले जसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ त्यसैतर्फ तयारी गर्नुपर्ने बताए । संविधान कार्यान्वयन र स्थानीय निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको भन्दै नेता नेपालले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने स्थिति नभए त्यसको विकल्प खोज्नुपर्ने धारणा व्यक्त गरे ।
ओलीको सिधा विरोध नगरी नेता नेपालले अहिलेकै नेतृत्वको सरकारमा नेपाली कांग्रेस र मधेसकेन्द्रित दलका नेता सहभागी हुनुपर्ने र त्यसो नभए जसको नेतृत्वमा राष्ट्रिय सहमति बन्छ त्यसका लागि तयार हुनुपर्ने बताए ।
सरकारले तोकेको अवधिमा स्थानीय निकायको निर्वाचन हुनुपर्ने भन्दै उनले मङ्सिरमा स्थानीय निर्वाचन गर्ने विषयमा कसैसँग सम्झौता नगर्ने चेतावनी दिए ।
नेपालले कुन पार्टीको कुन नेताको के समस्या छ भन्ने नाममा मुलुकको हितका लागि हुने चुनावमा कुनै पार्टीले अवरोध गर्नु नहुनेमा जोड दिए । उनको यो भनाइ आफ्नै दलका अध्यक्ष ओली र समस्या सिर्जना गर्ने अन्य दलका नेतातर्फ लक्षित थियो ।
नेता नेपाललाई विदाइ गर्न एमाले नेताहरु गङ्गालाल तुलाधर, सरोज उपाध्याय, युवा सङ्घ नेपालका उपाध्यक्ष दिलु पन्तलगायत विमानस्थल पुगेका थिए ।












