१२ असार, काठमाडौं । बारम्बार अनशन बसेर एमाले नेताहरुले खोल्न लागेको अस्पताल खोल्न अवरोध पुर्याउँदै आएका डा. गोविन्द केसीको मानसिक अवस्था ठीक नभएको भन्दै मानसिक उपचार गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई आग्रह गरेको छ ।
केसीले बारम्बार अनशन बसेर नयाँ मेडिकल कजेज खोल्न दिन नहुने माग राख्दै आएका छन् । जसकार कारण एमाले नेताहरुको लगानीमा खुल्न लागेको मनमोहन मेमोरियल मेडिकल कलेजले वैधानिकता पाउन सकेको छैन । सहकारी अस्पतालका नाउँमा मनमोहन अस्पताललाई अनुमति दिने गरी संसदमा विधेयक पास गर्ने एमालेको तयारी भैरहेका वेला डा. केसीले अख्तियार प्रमुखले व्ल्याकमेलिङ गरेको भन्दै उनलाई महाअभियोग लगाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
डा। केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाइनुपर्ने माग राखेको केही घण्टापछि आइतबार साँझ अख्तियारले प्रेस विज्ञप्ति गरी गरी डा. केसीको मानसिक स्वास्थ्य ठीक नभएको, उनी भ्रष्टहरुको माखे साङ्लोमा जेलिएको र उनका गतिविधिलाई अख्तियारले आफ्नो स्मृतिमा राखेको उल्लेख हो ।
संवैधानिक निकायबाट व्यक्तिका विरुद्ध जारी गरिएको लामो प्रेस विज्ञप्तिमा भनिएको छ- ‘बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा। केसीको उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ ।’
अख्तियार प्रमुख लोकमानसिंह कार्कीको ‘दादागिरी अचाक्ली भएको’ भन्दै डा. केसीले दिएको अभिव्यक्तिपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ- आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. केसीको सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ ।
डा. केसीले लोकमानमाथि लगाएको आरोप प्रमाणित गर्न अख्तियारले चुनौती समेत दिएको छ । आरोप प्रमाणित गरे अख्तियार प्रमुखले सन्यास लिने प्रवक्ता कृष्णहरी पुस्करद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
डा. केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि आफन्तको निहीत स्वार्थका निम्ति चिकित्सा क्षेत्रमा हस्तक्षेप गरेको, आफ्ना मान्छे भर्ना गरेको, मेडिकल काउन्सिललाई आफ्नो प्रभावमा राखेको, काठमाडौं विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गरेको र व्यापारिक स्वार्थहरु राखेको जस्ता आरोप लगाएका थिए ।
डा. केसीले लगाएका आरोपहरुको जवाफ दिँदै अख्तियारको विज्ञप्तिमा लोकमानसिंह कार्कीको बचाउ गरिएको छ । लोकमानलाई महाअभियोग लगाउनुपर्ने डा. केसीको मागको अख्तियारले ‘कडा शब्दमा भत्सर्ना’ गरेको छ ।
अख्तियारको शब्द यति कडा छ कि व्यक्तिले लगाएको आरोप विरुद्ध ३ पृष्ठ लामो संस्थागत वक्तव्य जारी गर्दै डा. केसीलाई तथानाम गालीगलौजसमेत गरिएको छ ।
अख्तियारको वक्तव्यमा केसी छुद्र, अराजक र मानसिकरुपमा अस्वस्थ रहेको ठहर गरिएको छ । त्यसैगरी डा. केसी माफियाहरुसँग नजिक रहेको, ‘स्वघोषित नागरिक अगुवा’ तथा संगठित अपराधी र भ्रष्टहरुसँग उनको साँठगाँठ रहेको अख्तियारको वक्तव्यमा ठोकुवा गरिएको छ ।
अख्तियारले डा. केसीलाई कुसंगत त्याग्न र ‘प्रायोजित अभियन्ता’ नबन्न आग्रह गर्दै उनका गतिविधिहरु ‘आयोगको स्मृतिमा रहेको’ चेतावनीसमेत दिएको छ ।
आयोगको वक्तव्यमा भनिएको छ, ‘डा. केसीका तमाम गतिबिधिलाई आयोगले आफ्नो स्मृतिमा राखेको छ । यताका दिनमा चिकित्सा एवं स्वास्थ्य क्षेत्रको सुद्दताका लागि आयोगले आफ्नो कारवाहीधिकार भित्रै रहेर गरेको पहलबाट उत्तर्सिएका मेडिकल माफियाहरुसँगको डा. केसीको सानिध्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा तथा संगठित अपराधी र भ्रष्टहरुसँगको उहाँको साँठगाँठ आयोगको दृष्टिबाट ओझेलमा छैनन् ।’
आयोगको वक्तव्यमा डा. केसीलाई राष्ट्रसेवक कर्मचारी भएर राज्यलाई धम्क्याउने कार्य नगर्न भनिएको छ ।












