१० असार, काठमाडौं । सरकारले द्वन्द्वग्रस्त चार मुलुकमा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको छ । मन्त्रिपरिषद्ले अफगानिस्तानसहित इराक, सिरिया र लिबियामा कामदार पठाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि द्वन्द्वग्रस्त चार देशमा कामदार पठाउन श्रम स्वीकृति रोक्का गर्ने निर्णय गरेको हो । आतंककारी समूहको निशानामा निर्दोष नेपाली पर्ने गरेकाले त्यस्ता देशमा जान प्रतिबन्ध लगाउने निर्णय गरिएको सरकारले जानकारी दिएको छ ।
अफगानिस्तानको काबुलमा मारिएका १३ नेपालीका आफन्तलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय समेत सरकारले गरेको छ । घाइते सबैको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको वन मन्त्री अग्नि सापकोटाले जानकारी दिए ।
अफगानिस्तान, इराक, सिरिया र लिबियाजस्ता द्वन्द्वग्रस्त देशमा पुगेका नेपाली कामदार फर्कन चाहेमा सरकारले निःशुल्क नेपाल ल्याउने भएको छ । ती देशबाट फर्कन चाहनेको विवरण तयार गरेर फर्काउने व्यवस्था गर्न मन्त्रिपरिषद् बैठकले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।











