८ असार, काठमाडौं । २ लाख ५० हजार सर्वसाधारणको ३ अर्ब ५० करोड रुपैयाँ ठगी गरेका युनिटी लाइफ इन्टरनेसनलका अध्यक्ष काशीराम गुरुङ जेलबाट निस्केपछि सरकारले नियन्त्रणमा लिएको जग्गा फिर्ता लिने कसरतमा लागेका छन् । दुई नम्बरी धन्दाबाटै अर्बौं ठगेका गुरुङ अब फेरि बैंकरहरुलाई प्रभाव पारेर नयाँ व्यवसाय संचालन गर्ने तयारीमा लागेका हुन् । आफ्नो पुरानो कम्पनीलाई नै ब्युँताएर निर्माण व्यवसाय गर्ने दाऊमा उनी छन् । किनभने निर्माण व्यवसायमा जति ठगी गरे पनि अहिलेसम्म कडा कारवाही कसैलाई भएको छैन । राजनीतिक दलका नेता र गुण्डाहरुलाई मोटो रकम बुझाएर निर्माणको काम गर्ने ठेकेदार सुरक्षित मात्र छैनन् सांसद समेत बनेका छन् । त्यसैले गुरुङ अब यो बाटोतिर लाग्दैछन् ।

ललितपुर जिल्ला अदालतले २०७० फागुन १७ गते नेटवर्किङ व्यवसाय गरी सर्वसाधारणलाई ठगेको भन्दै उनलाई ३ वर्ष कैद र जरिवानाबापत ३ करोड ३० लाख रुपैयाँ तिर्नुपर्ने फैसला सुनाएको थियो। गुरुङले ३ वर्ष कैदी जीवन बिताएका थिए ।
जरिवानाबापत ३ करोड ३० लाख रुपैयाँ तिर्नुपर्नेमा उनले अहिले जरीवाना बापतको रकममा १५ प्रतिशतले बृद्धि गर्दै ३ करोड ५० लाख रुपैयाँ बराबरको धरौटी राखी जेलबाहिर आएका हुन्।
जनताको ३ अर्ब ५० करोड रुपैयाँ नतिरीकन गुरुङ नयाँ व्यवसायमा जान लागेका हुन् । जनताको रकम तिर्ने कुनै तयारी समेत देखिएको छैन ।
१ सय १० जनाको रोक्का रहेको जग्गा जमिन बेचेर जनताको पैसा फिर्ता गर्ने भनिए पनि राज्यले यसमा कुनै कदम अघि बढाएको छैन। यी जग्गा बेचबिखन तथा बैंक खाताबाट रकम निकाली सदस्यलाई पैसा फिर्ता गर्ने ललितपुर जिल्ला अदालतले पैmसला सुनाएको थियो।
उनी कम्पनी रजिष्ट«ारको कार्यालयमा गएर आफ्नो कम्पनी दर्ता प्रमाणपत्र खोज्न थालेका छन् । तर कम्पनी रजिष्टारका कर्मचारीहरुले फाइल महान्याधिबक्ताको कार्यालयमा गएको भन्दै उनलाई फर्काइदिएका छन्।
उनीसँगै जेलमा परेका अधिकांश सञ्चालक भने जरीवानाबापतको रकम फछर्यौट गर्न थप ४ वर्ष जेल जीवन बिताउँदै छन्। अदालतमा युनिटीका सञ्चालक बिरुद्ध १२ करोड बराबरको मात्रै दावी परेको छ। अदालतले ठगी गरेको प्रमाण पाएपछि उनीहरुको सम्पूर्ण जग्गा जमीन र बैंक खाता रोक्का राखेको छ।











