७ असार काठमाडौं । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारणले मंगलबार सुनसरीका विभिन्न नदी तथा खोलामा आएको बाढीले सयौं घर डुवानमा परेका छन् ।
जिल्लाको बुढी खोला, गडन खोला र सुनसरी खोलामा बाढी आएकाले सयौं घर डुवानमा परेका हुन् ।
सबैभन्दा बढी पानी सुनसरी खोलामा आएकाले सदरमुकाम इनरुवा सहित छ गाविसका दुई सय घरहरु डुवानमा परेका छन् । सुनसरी खोला आसपास क्षेत्रमा रहेका गाउँहरु डुवानमा परेको स्थानीयहरुले बताएका छन् ।
सुनसरी खोलामा आएको बाढीले सदरमुकाम इनरुवाको ५ र ६ नम्बर वडा, बबियाको १ , ६ र ७ तथा नरसिह गाविसको ३, ४, ५ र ६ नम्बर वडासहित छ गाविसका दुई सय घरहरु डुवानमा परेका स्थानीयहरुले बताएका छन् ।
सदरमुकाम इनरुवाको ५ र ६ नम्बर वडामा सुनसरी खोलामा आएको बाढीले २० घर डुवानमा परेको कार्यकारी अधिकृत रामचरित्र मेहताले जानकारी दिए । त्यस्तै बबियाको १, ६ र ७ मा मुस्लिम बस्दी र खत्वे टोलमा सुनसरी खोलाको बाढी पसेकाले ६० घर डुवानमा परेको स्थानीय समिना खातुनले जानकारी दिए ।
त्यसैगरी बाढीले नरसिंह गाविसको ३, ४, ५ र ६ नम्बर वडाको १२० घरहरु डुवानमा परेका स्थानीय दामोदार यादवले जानकारी दिए । बाढीले जुट, तरकारी र मुंग दालमा लाखौंको क्षति भएको स्थानीयहरुले बताएका छन् ।
यसैबीच सप्तकोसी नदीमा समेत पानीको वहाव बढेको प्रहरीले जनाएको छ । पहाडी जिल्लामा लागातार परेको पानीको कारणले सप्तकोशी नदीमा पानीको वहाव बढेकाले कोशी व्यारेज भएर एक लाख ४५ हजार ७० क्युसेक प्रतिसेकेन्डका दरले पानीको प्रवाह भइरहेको कोशी व्यारेज प्रहरीले जनाएको छ ।
साँझ ६ बजे कोशी व्यारेजको २१ वटा ढोका खोलिएको बताइएको छ । दिउँसो १ लाख क्युसेक पानीको वहाव रहेकोमा साँझ करिव एक लाख ४५ हजार प्रतिसेकेन्डका दर पानीको प्रवाह भएको कोशी व्यारेज प्रहरीको भनाइ रहेको छ ।













