७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले र आफ्नी पत्नी राधिका शाक्य सहित मंगलबार सार्वजनिक स्थलमा योग अभ्यास गरेका छन् । योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौंको दरबारमार्गमा योग गरेका हुन् । ओलीको योग अभ्यासमा उपप्रधानमन्त्री, मन्त्री, सांसद र उच्चपदस्थ व्यक्तिहरु र विश्व किर्तिमानी योग साधक उत्तम मोक्ताले साथ दिएका थिए । आफ्नो दायाँतर्फ पत्नीलाई र वायाँतर्फ भारतीय राजदूत रञ्जित रेलाई राखेर ओलीले योग गरेका हुन् । सरकारका उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई भने भारतीय राजदूतलाई भन्दा परको स्थान मात्रै ओलीले दिए ।
स्वस्थ हुन गरिने योग गर्दा पनि अस्वस्थ ओलीलाई समस्या भएपछि एकैछिनमा आराम गरेका थिए । मन्त्री तथा अन्य व्यक्तिले भने एक घण्टासम्म योग गरे ।
योग अध्यास कार्यक्रममा सहभागी भएपछि ओलीले स्वस्थ शरीर र स्वस्थ विचारका लागि योगको अपरिहार्यता रहेको जनाउँदै संयुक्त राष्ट्र सङ्घबाट योग दिवसलाई मान्यता दिलाउन पहल गर्ने सबैप्रति आभार व्यक्त गरे ।
सो अवसरमा ओलीले योग नेपाली भूभागकै उत्पत्ति भएको बताए । नेपाल सरकारले आज बिहान दरबारमार्गमा योग दिवस कार्यक्रम आयोजना गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली पुर्खा र विद्वानले योग सुरु गरेको उल्लेख गर्दै यो कुनै देशको सम्पत्ति नभई सबै मानवका लागि भएको बताए ।
शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी नेपालमा ‘सामन्जस्य एवम् शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ पहिलो पटक भव्यतापूर्वक अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । संयुक्त राष्ट्र सङ्घले ११ डिसेम्बर २०१४ मा हरेक २१ जुनलाई दिवस मनाउने प्रस्ताव पारित गरेको थियो ।
नेपालका लागि भारतीय दूतावास रणजित रायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवसका अवसरमा पठाएको सन्देश सुनाएका थिए ।
प्रधानमन्त्री ओलीले ‘योग म्याराथन’ मा विश्व कीर्तिमान कायम गर्ने उत्तम मोक्तानलाई रु ५१ हजार राशिसहित पुरस्कृत गरे ।
मोक्तानले २०७२ पुस २ देखि ४ गतेसम्म लगातार ५० घन्टा १५ मिनेट योग गरी ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा आफ्नो कीर्तिमान कायम गरेका थिए । भारतका योगराज सिपीले कायम गरेको ४० घण्टा १५ मिनटको रेकर्ड उनले तोडेका थिए
योग दिवसका अवसरमा आज देशव्यापीरुपमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।














