७ असार, काठमाडौं । केही समयपहिलेदेखि नक्कली चिकित्सक र विमान चालकमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धानलाई तीव्र बनाएपछि विमान चालकले धमाधम जागिर छाड्न थालेका छन् । एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानबिन अगाडि बढाएपछि विभिन्न एयरलाइन्स कम्पनीमा कार्यरत पाइलटहरुले धमाधम राजिनामा दिन थालेका हुन् ।
दुई महिनामा २२ जनाले राजिनामा दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले गोमा एयरकाको पाइलट विशाल कार्कीलाई गत केही महिना अघि पक्राउ गरेको थियो । आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्यापसबाट नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए ।
कार्की पक्राउपछि अन्य पाइलटहरुले पनि धमाधम राजिनामा दिन थालेको सिआईबी प्रमुख डिआइजी नवराज सिलवलले बताए । चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबिबिएस पढेजस्तै पाइलट पेसामा पनि त्यस्तै प्रवृत्ति देखिन थालेको छ ।
यतिवेला थुप्रै नक्कली चिकित्सक पक्राउ परेपछि नक्कली पाइलटको पनि होसहवास उडेको छ ।












