६ असार, नयाँदिल्ली । भारतले नेपालसँगको सम्बन्धमा देखा परेको समस्या अब हटेको अभिव्यक्ति दिएको छ । नेपाल र भारतबीचको सम्बन्ध विगार्न प्रमुख भूमिका खेल्दै आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नै यस्तो जानकारी गराएकी हुन् । नेपालमा नयाँ संविधान जारी भएपछि केवल जानकारीमा आएको भन्दै समर्थन नजनाई भारतीय परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकालेको थियो । त्यहीँबाट सुरु भएको नेपाल भारत सम्बन्धको चिसोपन नाकाबन्दीसम्म पुगेको थियो ।
नेपाल–भारत सम्बन्धमा केही असमझदारी देखिएको तर अहिले त्यो हटेको दावी गरिन्। भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा आइतबार स्वराजले दुई देशबीच भएको द्विपक्षीय भ्रमणले असमझदारी हटेको बताएकी हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले दुई वर्षमा कूटनीतिक क्षेत्रमा गरेको प्रगतिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा स्वराजले दुई देशबीच सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरिन् ।
पत्रकारहरूले विशेषगरी मोदी सरकारको नेपाल, बंगलादेशलगायत मुलुकसँग विश्वासको संकट बढेकोमा जिज्ञासा राखेपछि विदेशमन्त्री स्वराजले नेपालसँगको असमझदारी हटेको दाबी गरेकी थिइन् ।
नाकाबन्दी हटेपछि गत फागुनमा प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेका थिए भने त्यही महिना सार्क मन्त्रिपरिषद् बैठकमा पोखरामा भाग लिने क्रममा भारतीय विदेशमन्त्री स्वराजले नेपाली नेताहरूसँग भेटवार्ता गरेकी थिइन् । गतसाता मात्रै सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन आउँदा परराष्ट्रमन्त्री कमल थापाले स्वराजसँग भेटघाट गरेका थिए ।
पत्रकार सम्मेलनमा स्वराजले अन्य देशको अवमूल्यन गर्दै विगत दुई वर्षमा भारत छिमेकीहरूको संरक्षकका रूपमा अगाडि आएको र संकटको समयमा उनीहरुलाई सहयोग गरिरहेको दावी गरिन् ।












