३ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वीरगंज, विराटनगर र चितवनबाट १५ जना नक्कली चिकित्सकहरुलाई पक्राऊ गरेको छ । तर वीरगंजमा भने नक्कली चिकित्सकहरु पक्राऊ गरिएको विरोधमा प्रदर्शन समेत भएको छ । चिकित्सकलाई अपराधीको शैलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेपछि एक झुण्डले वीरगंजमा प्रदर्शन गरेको थियो । वीरगंजबाट शुक्रबार मात्रै नक्कली प्रमाणपत्रधारी ९ चिकित्सक पक्राउ परेका छन् ।
चितवनबाट ३ नक्कली डाक्टर शुक्रबार नै पक्राउ परेका छन् । चितवनबाट नियन्त्रणमा लिइएकामा डा रजनी अग्रवाल, डा सुनिल आचार्य र डा राजन पुरी छन् । केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले दिएका छन् ।
त्यस्तै विराटनगरका चर्चित तीन जना चिकित्सकलाई समेत शुक्रबार नै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत डा सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा अब्दुल कलाम हक रहेका छन् । मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले विराटनगरका तीन जना चिकित्सकलाई आज पक्राउ गरिएको पुष्टि गरेका छन् ।
सिआईबीको विशेष टोलीले आज उनीहरुलाई अस्पतालबाटै पक्राउ गरेको जानकारी भण्डारीले दिए। माथिको निर्देशन अनुसार पक्राउ गरिएकाले कारण थाहा नभएको प्रहरी प्रमुख एसपी भण्डारीले बताए । हाल तीनै जना चिकित्सकलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
विराटनगरमा पक्राऊ परेका तीनै जना चिकित्सकको नक्कली शैक्षिक प्रमाणपत्र रहेको बताइएकाले पक्राउ गरिएको हो ।














