नरेश सर्राफ
३ असार, वीरगंज । केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले वीरगन्जका नौ जना डाक्टरलाई अनुसन्धानको लागि आफनो नियन्त्रणमा लिएको छ । सिआईबीका डिएसपी फिरोज बस्नेतको नेतृत्वमा आएको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा नगरको विभिन्न निजि क्लिनिक तथा अस्पतालमा छापामारी गरी नौ जना डाक्टरलाई आफनो नियन्त्रण लिएको हो ।
आईएससी (विज्ञान विषयको प्रवीणता प्रमाणपत्र तह)को सर्टिफिकेट नक्कली पेश गरी चिकित्सकको लाइसेन्स लिइएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सिआईबीले डा कुशराज गिरी, डा दिनेश साह, डा सरोज कुमार सिंह, डा अरुण कुमार गुप्ता, डा पन्नालाल पटेल, डा महमद रहुल्ला खान, डा निमेश पाल रमन, डा ईरसादुल हक र डा राम कुमार प्रधानलाई नियन्त्रणमा लिएका छन् । जसमध्ये ४ जना डाक्टर नेशनल मेडिकल कलेजका रहेका छन् भने अन्य नारायणी उपक्षेत्रीय अस्पताल तथा निजी क्लिनिकमा कार्यरत रहेका छन ।
विशेष अनुसन्धान व्युरोले बिहान नौ बजे नक्कली डाक्टरहरुलाई लिई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी प्रारम्भिक अनुसन्धान पश्चात दिउँसो तीन बजे थप अनुसन्धानको लागि काठमाण्डौ लगेको छ । डाक्टरहरुलाई अपराधी शैलीमा नियन्त्रणामा लिएको भन्दै वीरगन्जमा चिकित्सकहरुले सिआइबी विरुद्ध जिल्ला प्रहरी कार्यालय परिसरमै नारा बाजी गरेका छन् । उनीहरुले नाराबाजी गर्दै नगरका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारी विरोध गरेका छन् ।











