२ असार, काठमाडौं । सरकारले माग गरेको एक दिनमै पासपोर्ट दिने निर्णय गर्दै त्यसवापत लाग्ने शुल्क निर्धारण गरेको छ । मन्त्रीपरिषद्को विहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निवेदन दिएको २४ घण्टाभित्र पासपोर्ट दिने र त्यसवापत १५ हजार रुपैयाँ लिने निर्णय गरेको हो । मन्त्रीपरिषद्ले माग गरेको दुई दिनभित्र पासपोर्ट लिनेसँग १२ हजार तथा ३ दिनभित्र पासपोर्ट लिनेसँग १० हजार रुपैयाँ लिने निर्णय गरेको छ ।
यसअघि माग गरेको एक साताभन्दा अगाडि पासपोर्ट दिने व्यवस्था थिएन । एक सातामा पासपोर्ट लिन १० हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था थियो । मन्त्रीपरिषद्ले १० वर्षभन्दा कम उमेरका बालबालिकाको पासपोर्ट बनाउँदा भने माथि उल्लेखित शुल्कमा आधा छुट दिने निर्णय गरेको सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिएका छन् ।











