१ असार, काठमाडौँ । यस वर्षको एसएलसी परीक्षाको नतिजा विहीबार दिउँसो २ बजेपछि प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा विहीबार दिउँसो सार्वजनिक हुने जनाएको छ । नतिजा प्रकाशनका लागि आवाश्यक सबै तयारी पूरा भैसकेको परीक्षा नियन्त्रक कृष्ण काप्रीले जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयले यस वर्षदेखि पहिलो पटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्न लागेको हो । ग्रेडिङ प्रणालीमा संचालित हुने एसएलसी परीक्षा यो नै पहिलो र अन्तिम हुने भएको छ । किनभने अर्को वर्षदेखि एसएलसी नहुने भएको छ । त्यसैले यस वर्ष एसएलसी दिनेहरु एसएलसीकै इतिहासमा भाग्यशाली मानिएका छन् ।
कुल चार ग्रेड प्वाईन्ट एभरेज (जिपिए) मध्ये विद्यार्थीको प्राप्ताङक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिनेछ । एसएलसी गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक हुन लागेको हो । परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना विद्यार्थी सहभागी छन् । पनिकाको तथ्याङ्क अनुसार यसवर्ष छात्रको तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी छन्। कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना छन् । तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र छन् । त्यस्तै, आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी हुँदैछन् । प्राविधिक धारका ३ हजार दुइ सय जना परीक्षार्थी छन् । जसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र छन् ।












