३१ जेठ, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई शनि ग्रहले नसताउने बताएका छन् । शनि आफ्नो मित्र भएको बताउँदै ओलीले ज्योतिषी र पण्डितहरुले आफूलाई पूजाआजा गर्न भने पनि आफूले नमान्ने गरेको सोमबार बताए ।
सोमबार ललितपुरमा सुरु भएको स्कुल अन एस्ट्रोनोमी एण्ड स्पेश साइन्सको उद्घाटन गर्दै ओलीले ज्योतिषशास्त्रीहरुले शनिबाट बच्न सल्लाह दिने गरे पनि शनि आफ्नो मित्र भएको दावी गरे । आफू शनिबार जन्मिएकाले शनि आफ्नो मित्र भएको र शनिको दशा आफूलाई नलाग्ने बताए ।
ज्योतिषी तथा पण्डितहरुले शनिबाट बच्न आफूलाई जप, ध्यान, पूजाआजा गर्न सल्लाह दिने गरेको समेत ओलीले बताए । शनिको दशा लाग्छ भनेर आफू कहिल्यै नआत्तिएको र अरु कोही पनि आत्तिन आवश्यक नरहेको धारणा प्रधानमन्त्री ओलीले व्यक्त गरे । शनिले मानिसलाई देख्न नसक्ने तर मानिसले टेलिस्कोपबाट शनिलाई हेर्दा केही फरक नपर्ने उनको तर्क थियो ।
प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिविना मुलुकको विकास कल्पना गर्न नसकिने समेत बताए ।
विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहालय विकास समितिको आयोजनामा सुरु भएको स्कुल अन एस्ट्रोनोमी एण्ड स्पेश साइन्स पाँच दिनसम्म चल्ने छ ।












